आइतबार, भदौ १९ गते ।

मकवानपुर । मकवानपुरका दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फबाट चुनाव लड्न नेकपा एमालेबाट ८ जनाको नाम सिफारिस भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि शनिबार बसेको एमालेको २ वटै क्षेत्रीय कमिटीको बैठकले ८ जनाको नाम सिफारिस गरेको हो ।

एमाले मकवानपुर–१ को क्षेत्रीय समितिको बैठकले ५ जनाको नाम सिफारिस गरेको छ । बैठकले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य मदन कुमार दाहाल, एमाले मकवानपुरका सदस्यहरु नरहरि महत र रमिला सापकोटालाई  सिफारिस गरेको हो ।

यसैगरी प्रतिनिधिसभा नम्बर २ क्षेत्रीय कमिटीको बैठकले सो स्थानमा प्रत्यक्षतर्फ चुनाव लड्न ३ जनाको नाम सिफारिस गरेको छ । सो क्षेत्रमा चुनाव लड्न नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभागका प्रमुख महेश कुमार बर्तौला, नेता सुवासचन्द्र ठकुरी र बुद्धरत्नको नाम नाम सिफारिस गरिएको हो । 

प्रदेशका ४ क्षेत्रबाट चुनाव लड्न २२ जना सिफारिस
यता प्रदेशसभा तर्फको ४ वटा निर्वाचन क्षेत्रमा पनि प्रत्यक्ष तर्फबाट चुनाव लड्न एमालेले २२ उम्मेदवार सिफारिस गरेको छ । मकवानपुर–१ (क) बाट प्रत्यक्ष तर्फ चुनाव लड्न ८ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेहरुमा अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ, कृष्णप्रसाद चौलागाई, कमल विष्ट, नारायण सापकोटा, दिपक न्यौपाने, सीता विष्टको रहेका छन् भने मकवानपुर–१ (ख) बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई र आरती पाठकको नाम समावेश गरिएको छ ।

यसैगरी मकवानपुर–२ (क) बाट बलराम बल, विष्णु ढकाल र चमेलीमाया वाइवा रहेका छन् । मकवानपुर–२ (ख) बाट लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्का उम्मेदवार सिफारिस भएका छन् । एमाले क्षेत्रीय कमिटीले गरेको सिफारिसमा भाद्र १९ गते बस्ने जिल्ला सचिवालय र भाद्र २० गते बस्ने जिल्ला कमिटी बैठकले थप सुझावसहित माथिल्लो कमिटीमा पठाइने छ ।