थुनामा रहेको सुरक्षा गार्डलाई रवि लामिछानेले भेटे ।

सोमबार, भदौ २० गते ।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा पक्राउ परेका सुरक्षा गार्डलाई भेटेका छन् ।
सोमबार प्रहरी वृत्त दरबारमार्ग पुगेर लामिछानेले मन्त्री श्रेष्ठलाई लाइनमा बस्नु भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरूङसँग भेटेर कुराकानी गरेका हुन् ।
गत शुक्रबार काठमाडौंको ठमेलस्थित छाया सेन्टरको भिएसएफमा मन्त्री श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्ड गुरूङलाई पक्राउ गरेको हो ।
लामिछानेले प्रहरी वृत्त दरबारमार्ग पुगेर गुरूङलाई धन्यवाद दिएका हुन् ।
‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु, कानून सबैलाई बराबर हुन्छ,’ उनले भने ।
शेरजंगले आफ्नो आवाज ठूलो भएको हुनसक्ने तर दुर्व्यवहार भने नगरेको बताएका छन् ।
‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुर्व्यवहार गरेको छैन । मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो,’ गुरूङको भनाई उदृत गर्दै लामिछानेले लेखेका छन् ।
यसमा सत्यता भए उनलाई रिहा गर्नुपर्ने बताएका हुन् ।
‘यदी उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस् । दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्,’ उनले भने ।
गुरूङमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको छ । उनलाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति दिएको छ ।