मंगलबार, भदौ २१ गते ।

मकवानपुर । देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । 
प्रदेश–१ का थोरै स्थानमा र वागमती प्रदेशका एक-दुई स्थानमा सामान्य देखि मध्यम वर्षा भइरहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्व तिर सरदर स्थान भन्दा केही उत्तर तर्फ र पश्चिम तिर सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ । 

प्रदेश–१, मधेस प्रदेश र वागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । 
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१ र वाग्मती प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहने विभागको भनाइ छ । 

प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै भोलि बुधबार प्रदेश १, बागमती प्रदेश  र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।
बिहिबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।