बुधबार, भाद्र २२ गते ।

मकवानपुर । लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गरिन्छ । उनीहरूले यस पर्वलाई छोनाम पनि भन्ने गर्छन् ।

यसवर्ष यो पर्प भदौ २२ गते आज मनाइँदै छ । चेपाङ समुदायको न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले आज मकवानपुर सहित तीन जिल्लामा सार्वजनिक विदा दिएको छ । आज बुधबारको दिन (चेपाङ) समुदायले नयाँ वर्ष (न्वागी) मनाउने भएकाले उनीहरुको मागलाई मध्यनजर गर्दै प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

चेपाङ समुदायले यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धान आदि खाने गरिन्छ । पितृहरूको सम्झनामा पूजा गर्दै देवीदेवतासँग रोगव्याधी नलागोस् भनेर आशीर्वाद लिने गर्छन् । भाकल भए त्यसको पनि पूजा गर्ने गरिन्छ ।

न्वागीलाई चेपाङ जातिले सबैभन्दा ठूलो पर्वका रुपमा मनाउँदै आइरहेका छन् । घैया धानलाई टाउकोमा राखेर आशिस लिने गरिन्छ । सोही दिन पुराना भाकाका गीत, झ्याउरे गीत गाएर नाचगान गरी रातभर रमाइलो गर्ने परम्परा छ ।

पछिल्लो समय धेरै चेपाङले धर्म परिवर्तन गरेसँगै विगतको जस्तो पर्व रमाइलो हुन छाडेको गुनासो समेत छ । पछिल्लो समय चेपाङ समुदायका धेरै संख्यामा मासिन क्रिश्चियन बनेपछि भाषा, धर्म, संस्कृति जोगाउन मुस्किल भएको समुदायका अगुवा बताउँछन् ।

चेपाङ समुदायका अगुवाका अनुसार समुदायले भूयार र न्वागी गरी दुई वटा पर्वलाई राष्ट्रिय पर्वको रूपमा मनाउँदै आएका छन् । खेती लगाउने समयमा भूयार र खेती थन्काउने बेलामा न्वागी मनाउने गरिन्छ ।

फागुन र चैतमा रोपेका बाली साउन/भदौमा तयार भएपछि चढाउने गरिन्छ । प्रकृतिलाई पूजा गर्दै नयाँ खेती भित्र्याउने गरिन्छ । मुख्यरूपमा यतिबेला पिँडालु, निबुवा, घिरौँला, कागुनो, तामा, घैया धान भित्र्याएर भगवानलाई चढाएर मात्र खान सुरु गरिन्छ ।

यो चेपाङ समुदायको ठूलो पर्व भएकोले घरघरमा हामी खुसीयाली साटासाट गरेर मनाइन्छ। कतिपयले यो पर्व समूहगत रूपमा पनि मनाउँछन् । चेपाङ समुदायलाई आफ्नो बारीमा उब्जनी भएको अन्नले छ महिना पनि खान पुग्दैन। जे जति उत्पादन हुन्छ, यसलाई निकै सम्मान दिएर पूजा गरेर मात्रै खाने चलन रहेको छ ।

न्वागी पूजा नगरेसम्म अन्न जुठो हुने भएकोले चोख्याएर मात्रै खाने चलन छ । धर्म परिवर्तनका कारण पछिल्ला दिनमा पर्व मनाउनेको सङ्ख्या घटेको र धर्म र संस्कृतिलाई सबै मिलेर जोगाउनु पर्ने चपाङ समुदायका अगुवाहरु बताउँछन् ।

पहाडी क्षेत्रमा रहेका लोपोन्मुख यो जाति धेरैको आफ्नै जमिनसमेत छैन । वनमा फलेका कन्दमूल खाएर कतिपयले जीविका टार्नुपर्ने बाध्यता छ । शिक्षाको अभावमा बाल्यअवस्थामा नै विवाह हुने गरेकाले जन्मिएका बालबालिका र आमाको स्वास्थ्य अवस्था जटिल हुने गरेकाले यो जातिका लागि सरकारले प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग थियो ।

नेपालका चितवन, मकवानपुर, धादिङ र गोरखामा यो जातिको बसोबास बढी छ । छिटफुट २४ जिल्लामा बसोवास रहेको चेपाङ जातीको जनसंख्या देशभर ७० हजार भन्दा बढी रहेको बताईएको छ ।

पछिल्लो जनगणनाको सङ्ख्या आइसकेको छैन । तीमध्ये मकवानपुरमा चेपाङ जातीको जनसंख्या ३० हजार भन्दा बढी रहेको अनुमान छ । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, भिमफेदी गाउँपालिकामा चेपाङ समुदायको बसोवास रहेको छ । रासस ।