बिहिवार, भाद्र २३ गते ।
✍️ अशोक गलान (लामा)/
मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुरमा बिरोध खतिवडा, महेश बर्तौंला र भरत पराजुलीबिच त्रिपक्षीय रोचक भिडन्त हुने भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा कलम चिन्ह लिएर आउने करिबकरिब पक्कापक्की भईसकेको छ ।

उनलाई टक्कर दिन प्रतिद्वन्द्वीका रूपमा नेकपा एमालेका बागमती प्रदेश कमिटी उपमहासचिव युवा नेता महेश बर्तौंला र रवि लामिछानेले नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका उमेदवार भरत पराजुली उभिने लगभग पक्का जस्तै छ । खतिवडा, बर्तौंला र पराजुली तिनै जनाले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित गतिविधिलाई व्यापक बनाईरहेका छन् ।

अघिल्लो निर्वाचनमा खतिवडा एमालेबाट उम्मेद्बारी थिए । हाल उनी पार्टी विभाजनसँगै नेकपा (एकीकृत समाजवादी) मा छन् । यसअघि खतिवडालाई निर्वाचन जिताउन लागेका बर्तौंला आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भने एकअर्काको प्रतिद्वन्द्वीका रूपमा आमुन्नेसामुन्ने उभिने छन् । साथै ती दुई जनालाई नै टक्कर काँग्रेसबाट बिद्रोह गरेर रविको पार्टीबाट निर्वाचन लडदै गरेका भरत पराजुलीले पनि दिने देखिन्छ ।

खतिवडालाई नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी र पराजुलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि एकल उम्मेदवार सिफारिस गरिसकेका छन् । उता एमालेबाट भने बर्तौंलासहित संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी र बुद्धरत्न मानन्धर सिफारिस भएका छन् । अब तीन जनामध्ये पार्टीले युवा उम्मेदवार भएकाले बर्तौंलालाई नै टिकट दिने बजार हल्ला सुन्न सकिन्छ ।

करिबकरिब गठबन्धनबाट खतिवडा, एमालेबाट बर्तौंला र रविको राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजुलीबिच त्रिपक्षीय भिडन्त हुने देखिन्छ । खतिवडा र बर्तौंला भने राजनीतिका गुरुचेला हुन् । पराजुली भने काँग्रेस पार्टीबाट बिद्रोह गरेर आएका पुराना काँग्रेस नेता हुन् । अहिलेसम्म लडेका निर्वाचन कहिल्यै नहारेका खतिवडा भर्सेज पहिलोपटक निर्वाचनमा सहभागी हुन लागेका युवा नेता बर्तौंला र काँग्रेसबाट बिद्रोह गरेका पुराना नेता पराजुलीको निक्कै रोचक भिडन्त यो पाली देखिने छन् ।

खतिवडाले मकवानपुरबाट २०४८, ०५१, ०५६ र ०७४ मा गरी चारपटक प्रत्यक्ष निर्वाचन जितिसकेका छन् । उनले सबै निर्वाचन एमालेमा रहँदा जितेका हुन् । उनले आगामी निर्वाचनमा भने एमालेबाटै विभाजित भएको पार्टीबाट गठबन्धनको सहारामा निर्वाचन लड्दै छन् । यसकारण पनि उनको यो नयाँ परीक्षा बनिरहेको छ । विगतको निर्वाचनमा जस्तो खतिवडाको अगाडी पछाडि कर्याकर्ताको भिड हुने छैनन् । उनलाई निर्वाचन जिताउन यसअघिका एमालेका कर्याकर्ताहरुले जसरी हुन्छ निर्वाचन हराउनु पर्छ भन्दै कम्बर कसेर लागिसकेका छन् । साथै अहिले नेकपा एकीकृत समाजवादीसँग मकवानपुरमा थोरै जनमत भएकाले पनि उनलाई निर्वाचन जित्न फलामको चिउरा चपाउनु बराबर हुनेछ ।

मकवानपुर २ नम्बर क्षेत्रको भीमफेदी गाउँपालिकास्थित नामटारमा जन्मिएका बर्तौंला र मनहरी गाउँपालिका हाँडिखोलामा जन्मिएका पराजुलीले खतिवडाको निद हराम गराउन सक्ने नेताहरु हुन् । यहि क्षेत्रका रैथाने नेताहरु भए पनि निर्वाचनमा भने बर्तौंला र पराजुली नयाँ अनुहार हुन् । उनिहरुले यसअघि कुनै पनि निर्वाचन लडेका छैनन् । बर्तौंला युवा नेता र पराजुली काँग्रेसबाट बिद्रोह गरेर आएका पुराना नेता भएकोले पनि सबैलाई यी दुई जनाले आडभरोसा दिलाएर माहौल आफ्नो पक्षमा ल्याउने अनुमान गरिएको छ । निर्वाचन जिताउन लागि बर्तौंलाका अगाडि  पछाडि एमाले मकवानपुरका सिङ्गो टिम र पराजुलीको पनि काँग्रेसका असन्तुष्ट कर्याकर्ता र राष्ट्रिय स्वतन्त्र पार्टीलाई भरोसा गर्ने ठुलो युवा जमात लागेका छन् ।

यसकारण मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनको त्रिपक्षीय भिडन्तमा कसले बाजि मार्छन् हेर्न बाँकी छ ।