सोमबार, भदौ २७ गते ।

हिजोआज भविष्यको बारेमा अनेकन अनेकन कुराहरु सोच्छु । गहिराइमा डुबेर सोच्छु अनि यतिकैमा तिम्रो झल्यास्स याद आई दिन्छ । कहिले त तिमी को हौ भनेर मैले कुनै भेउ नै पाउदिन तर यति चाहि थाहा छ तिमी पछि मेरै हुनेछौ । तिमी अहिले के कस्तो छौ मलाई त्यो पनि थाहा छैन तर यति चाहिँ थाहा छ कि एक दिन तिमी मेरो असल श्रीमती, ब्यबहारिक बुहारी र अनुशासित छोरी बन्ने छौ ।

सायद तिम्रा ती ठुलो निधारमा म जस्तो जिद्दी, घमण्डी ईश्वरले लेखेर पठाएको हुनुपर्छ । तिमी मलाई झेल्न विवस हुने भयौं । हुन पनि म त्यति साह्रै असजिलो पनि त छैन । अचेल समय र समाज परिवर्तनसगै कतिपय कुराहरुमा म आफूलाई परिवर्तनसिल गराउन नसक्नु मेरो कमजोरी पनि हुन सक्छ । तर हिजोआजको जस्तो बिहे गर्नु अघि घुमफिर रे, जन्म दिन उत्सव रे, दोहोरी साँझ, डान्सबार रे, के के हो के के त्यो चाहिँ मलाई फिटिक्कै गर्न आएन । मानौं कि त्यो मन नपर्ने संस्कार मैले कहिल्यै गर्नै जानिएनन् ।

फेरि अर्को कुरा यसो नियाल्छु अहिलेको बिहे खर्च हेर्दा पनि दङ्ग पर्छु । एउटा सामान्य परिवारको मान्छेले त बिहे नै गर्न सक्दैनन् कि जस्तो लाग्छ । मेरो पारिवारिक पृष्ठभुमि मध्यम वर्गमा नै पर्छ । खान लाउनलाई खासै समस्य छैनन् । अरुले जस्तै मोजमस्ती नै गर्ने भए समाजमा भाडभैलो नै मच्चाउन मन नै हुने हो त ५ दिदिबहिनीको एक्लो भाई र आमाबाबाको एक्लो छोरा हुँ । आमाबाबाको पसिना खेर फालम भने नसक्नेसम्मको त हैनन् तर त्यस्तो काम म मेरो परिवारको पसिना फजुल कुरामा खर्च गर्न चाहन्नँ र त्यस्तो खालको गतिविधिको म सधैं विरोध गर्छु । भो, मलाई यो ४ दिने जिन्दगीमा त्यस्तो खालको देखावटी चाहिएन र गरिएन पनि ।

घरबाट दिदिबहिनी आमाबाबाले पनि बेलाबखत ‘तैँले घर गरेर खाने खालको बुहारी ल्याउदैनस्’ भनिरहँदा पनि बिहे नगर्ने सोच मनमा उब्जिन्छन । तर फेरि एक मनले सोच्छु, के थाहा तिमी सहयोगी पो छौ कि ? मेरो भाग्य नै बदलिदिन्छौ कि ? मेरो कमजोरीहरुलाई सच्चाउने खालको पो छौ कि ? नजानेका हरेक कुराहरुको सहारा दिने साहयात्री पो बनिदिन्छौ कि ? यस्तै यस्तै प्रश्नहरुले पनि बिहे त गर्छु भन्ने प्रण लिएको छु । आशा पनि छ, तिमी दुरुस्तै यस्तै हुनेछौ ।

धेरै पढ्न त सकिएन तर त्यसो भन्दैमा सबै कुराहरुमा कमजोरी छु जस्तो त लाग्दैन । र कमजोरी छैनन् पनि भन्दिन कति कुराहरुमा होलान् ती कुराहरुमा तिमिले सिकायौ भने सिक्ने कोशिस गरुम्ला । मबाट गल्ती नै हुन्न त भन्दिन तर तिमिले सम्झाइ बुझाइ गर्‍यो भने ति गल्तीहरु भने कदापि कहिल्यै दोहोर्‍याने छैन ।

यो महंगीको सिजनमा म छोरो मान्छे भएर पनि तिमी छोरी मान्छेलाई मात्रै कमाउन कदापि लगाउदिन । तर यत्ती भने आसा गर्छु हाम्रो घर बनाइरहँदा इँटा थप्ने काम र घरको छानो हाल्ने काममा तिमी सदा मेरो साथ रहनु । यति चाहि मैले तिमीबाट आशा गरेको छु । म पनि हाम्रै घर त हो चुहिने, हाम्रै घरमा त हो प्वाल पर्ने त्यसैले पनि सदा सजग र सचेत भएर घरको इँटा थप्ने कोसिस हरबखत गरिरहनेछु ।


अनि पुरुषवादले जरा गाडेको हाम्रो समाज देख्दा कहिलेकाही त उदेक पनि लाग्छ । फेरि अर्कोतिर अहिले विभिन्न काण्डहरु लगाएर पुरुषलाई नै फसाईरहेको घटनाहरु नियाल्छु मनमा कताकता चिसो पस्छ । अनि फेरि यी काण्डहरु र मेरो जिन्दगी त बिल्कुल फरक कुराहरु हुन् भन्ने सम्झिएर मनलाई सम्हाल्ने गर्छु । हामीले खाना पकाउँदा, सफा गर्दा, भाडा माझ्दा, सब्जी किन्न जादा र अन्य घरका जेसुकै कामहरु गर्दा पनि हामी आमा दिदिबहिनी नै खोज्छौ । अर्थात महिला नै खोज्छौ । तर म चाहिँ मेरो छोराछोरीले यी सबै सबै कुराहरुमा महिला र पुरुष उतिकै जिम्मेवारी हुन भनेर सिकोस भन्ने चाहान्छु ।


अनि साची एउटा कुरा त मैले तिमिलाई भन्नै बिर्से छु । मलाई पनि आफ्नो देश छोडेर परदेश पलायन हुने रहर त कहाँ छ र ? तर यसो सम्झिन्छु परदेश नपसेसम्म मैले जिन्दगी चलाउने कुनै मेसो नै देख्दिन । विदेश नगएर महल बनाउन सकिँदैन भने म झुपडीमै रमाउछु भन्ने लाग्छ तर कहिलेकाही कताकता मनले नै मान्दैन । अनि केही समय भयो एकपटक जेसुकै होस् म पनि परदेश पलायन हुन्छु भनेर । हेरौं जिन्दगीका मोडहरुले कताकता पुर्‍याउछन कुरिरहेको छु ।


तिमि पनि कहिलेकाही यसो कल्पना गर्छौ होला म कस्तो छु भनेर । तिम्रो पनि आफ्नै इच्छा आकांक्षाहरु छन् होलान् । मैले त्यसलाई कदर गर्नु पर्ने हुन्छ । एउटै आमाको कोखबाट जन्मिएकाहरुको पनि विचार मिल्दैन भन्छन् । झन हामी त अलगअलग परिवेशमा हुर्किएका हौं । हाम्रो पनि मन बिचार बेलाबखत नमिल्न सक्छन् । फगत, हामीले दुई मन अनि दुई आत्मालाई मिलाउन खोजिरहँदा कतिपय सामान्य कुराहरुलाई आत्मसाथ गर्दै सिङ्गो जिन्दगी एकआर्कामा समर्पण गर्न सक्नु पर्छ । अनि एउटा मिठो, सुन्दर, शान्त र खुशी भविष्य बनाउन हामी दुबै जना मिलेर संघर्ष गर्नु पर्छ भन्ने अठोट तिमिसग समर्पण गर्दै ओझेल पर्ने चेष्टा गर्छु ।
उहि तिमीलाई माया गर्ने,
✍️ अशोक निर्दोष लामा