बिहिबार, भदौ ३० गते ।

मकवानपुर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिदै गर्दा टिकटका लागि नेताहरुको दौडधुप व्यापक छ । दलहरुलाई समानुपातिक उम्मेद्वारको सूची बुझाउन दिएको समय र टिकट छिनोफानो गर्ने दिन नजिकिदै गएपछि जिल्ला तहका नेताहरुको अहिले संघीय राजधानी काठमाडौँमा दौडधुप गजबले चलेको देखिन्छ ।

मकवानपुरका सबै दलका टिकटका आंकाक्षी उम्मेद्वारहरुलाई अहिले जिल्लामा भेट्न सकिदैन । उनिहरुलाई काठमाडौँको नेताहरुको क्वाटरमा मात्रै भेट्न सकिन्छ । जिल्लाका चोकचोकमा यतिबेला उम्मेद्वार बन्न नचाहने नेताहरु मात्रै रहेका छन् । सत्तागठबन्धनभित्र उम्मेद्वरको टिकट हत्याउन जिल्ला नेताहरु काठमाडौंस्थित नेताहरुको निवास र पार्टी कार्यालयमा धाउनेहरुको लर्को देखिन्छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, एकीकृत समाजवादी लगायतका नेताहरु यतिबेला सबै काठमाडौँमा छन् ।

काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, केन्द्रिय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, नेकपा एमालेमा नेता रामेश्वर राना, नेकपा माओवादीका रामनारायण बिडारी, एकीकृत समाजवादीका नेता बिरोध खतिवडा, मुनु सिग्देल, राप्रपा नेता दिपक सिंह लगायतका नेताहरु काठमाडौँमै छन् । सबै नेताहरु यसपटक आफ्नो टिकट पक्का गरेर फर्किने तयारीमा लागेका हुन् ।

जिल्लामा अहिले कुनै पनि पार्टीका पदाधिकारीस्तरका नेता भेटिन मुश्किल छ । जिल्लाका एक नेताले भने–‘हामी टिकटको पछि नलाग्ने मात्रै मकवानपुरमा छौं, टिकटका लागि दौडिनेहरु सबै काठमाडौँमा भेटिन्छन् । साथै अहिले सबै पार्टीको बागमती प्रदेश कमिटीको बैठक चलिरहेकाले पनि धेरै जसो नेताहरुलाई काठमाडौंमा नै भेट्न सकिन्छ ।