शुक्रबार, भदौ ३१ गते ।

मकवानपुर । जति–जति उमेरको रंग चढ्दै जान्छ, प्रेमिल पुस्ताको चञ्चलता बढ्दै जान्छ । यो त्यही उमेर हो, जतिबेला उनीहरु विपरित लिंगप्रति आकर्षित हुन थाल्छन् । त्यसो त समान लिंगबीचको आकर्षण पनि नहुने होइन । यद्यपि यी अपवाद हुन् । धेरैजसो अवस्थामा विपरित लिंगी एकअर्काप्रति आकर्षित हुन्छन् ।
यो भावनात्मक भन्दा पनि भौतिक आकर्षण हो । अझ भनौं शारीरिक आकर्षण । भनिन्छ, युवापुस्ताको प्रेम आँखाबाट सुरु हुन्छ र त्यो दिलमा पुग्छ । एकअर्कालाई देखेर उनीहरु आकर्षित हुन्छन् । यसमा उनीहरुको आवरण, बानी–व्यवहार, स्वभावले प्रमूख भूमिका खेल्छ ।

जब उनीहरु आपसमा मन पराउन थाल्छन्, त्यसपछि भेटघाट, कुराकानी, घुमफिर गर्न उत्सुक हुन्छन् । एकअर्कालाई स्पर्श गर्न, अंगालोमा बाँध्न, चुम्बन गर्न रुचाउँछन् । जति–जति उनीहरुको भेट बाक्लिदै जान्छ, तब उनीहरु भावनात्मक रुपले एकाकार हुन थाल्छन् । अब उनीहरु एकअर्काको भावना, रुची, सपनाको कुरा गर्न थाल्छन् ।

यो चरणमा आइपुगेपछि उनीहरुलाई शरीर भन्दा भावनालाई प्राथमिकता दिन थाल्छन् । एकअर्काको बारेमा सोच्ने, अनेक सपना देख्ने, निकट हुन खोज्ने गर्छन् । अब यो सिलसिला कहाँसम्म पुग्छ त ?
एकथरी प्रेमलाई विवाहको खुड्किलो मान्छन् । विवाह गरेपछि प्रेम सफल भएको लाग्छ । प्रेमी प्रेमिका आखिरमा एक दम्पती बन्न पुग्छन् । त्यसपछि उनीहरुले छुटै पारिवारिक रचना गर्छन् ।

अर्कोथरी प्रेमलाई प्रेमसम्म नै राख्न चाहन्छन् । उनीहरु प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने ठान्दैनन् । प्रेम गर्ने, डेटिङ जाने, अन्तरंग पल साट्ने । वस्, उनीहरु यही चक्रमा घुमिरहन रुचाउँछन् । प्रेमलाई विवाहमा रुपान्तरण गर्ने हतारोमा हुँदैनन् ।
तर, यस किसिमको प्रेमको अन्त्य सहमतिमा हुँदैन । एकले अर्कालाई धोका दिएपछि मात्र उनीहरु अलग हुन्छन् । प्रेम, रोमान्स र धोकाको चक्करमा उनीहरु घुमिरहन्छन् ।

थाहै नपाई नियन्त्रणमा
त्यसो त प्रेममा परिरहेको बेला उनीहरु थाहै नपाई एकअर्काको नियन्त्रणभित्र रहन पुग्छन् । अर्थात एकले अर्कामाथि नियन्त्रण र निगरानी गर्न थाल्छन् । आफुले चाहेको बखत बोल्नुपर्ने, भेट्नुपर्ने, फोनमा, फेसबुकमा उपलब्ध हुनेपर्ने सोच राख्छन् ।

दोस्रो केटा वा केटीसँग बोलेको, निकट भएको रुचाउँदैनन् । अरुसँग घुम्न गएको, रमाएको पनि रुचाउँदैनन् । आफुलाई मात्र ध्यान दियोस् भन्ने अपेक्षा गर्छन् । यस किसिमको अपेक्षाले उनीहरुलाई बन्धनमा पार्छ । प्रेमको सुरुवाती क्षण जति रोमाञ्चक हुन्छ, क्रमस त्यो जटिल र असहज हुँदै जान्छ । कतिपय प्रेमी वा प्रेमिकाले आफुमाथि नियन्त्रण भइरहेको महसुष गर्छन् र यस्तो सम्बन्धलाई तोड्न चाहन्छन् ।

प्रेम सम्बन्ध टुट्नसाथ कतिपयले स्वतन्त्र महसुष गर्छन् भने कति खिन्न हुन्छन् । प्रेममा बढी अपेक्षा गर्ने र एकोहोरिनेहरु ब्रेकअपपछि निकै दुःखी हुनपुग्छन् । कति त डिप्रेसनमा जान्छन् र आत्महत्या गर्न उक्सिन्छन् ।

प्रतिशोधको खेल
प्रेम सम्बन्ध रहेकै बेला उनीहरुमा असमझदारी बढ्छ । अविश्वास र गुनासो बढ्दै जान्छ । अन्ततः उनीहरुमध्ये एकले सम्बन्ध तोड्छन् ।
यो मोडसम्म आइपुगेपछि उनीहरु एकअर्कासँग प्रतिशोध साँध्न थाल्छन् । ब्रेकअप भइसकेपछिको अवस्थामा उनीहरुले पूर्व प्रेमी वा प्रेमिकासँग प्रतिशोध साँध्न गजबको काइदा अपनाउँछन् । अर्थात उनीहरु तुरुन्तै अर्कोसँग सम्बन्ध बनाउन पुग्छन् । खासमा उनीहरुले नयाँ सम्बन्ध बनाउन यसकारण चाहन्छन् कि, पूर्व प्रेमी वा प्रेमिकालाई चिड्याउन सकियोस् ।

यसलाई प्रचलित भाषामा ‘रिभेन्ज अफेयर’ भनिन्छ । पूर्व प्रेमी–प्रेमिकालाई ‘देखाउनका लागि’ उनीहरु अर्को साथीसँग सम्बन्ध बढाउँछन् । यो भनेको देखासेखी सम्बन्ध हो । यसरी ब्रेकअप लगत्तै अर्को साथी खोज्नुमा दुई कारण भेटिएको छ । एक त पूर्व प्रेमीसँग बदलाको लागि । दोस्रो चाहि एक्लोपनबाट उन्मुक्तिका लागि । #अनलाइनखबर ।