शुक्रबार, भाद्र ३१ गते ।

मकवानपुर । आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्नका लागि जिल्ला प्रहरी कार्यलय मकवानपुर अगाडि बिहानैदेखि युवायुवतीको लाइन लागेको छ । म्यादी भर्नाका लागि बिहीबारदेखि आवेदन लिने कार्य सुरु भएको छ । 

पहिलो दिन बिहीबार चर्को घामका बाबजुद घण्टौंसम्म लाइनमा लागेर युवायुवतीहरूले म्यादी प्रहरीका लागि फाराम भरे । पहिलो दिन बिहीबार फारम भर्न अत्यधिक भीड रहेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार पहिलो दिन ३ सय ४९ जनाले म्यादी प्रहरीमा जागिर पाउन फाराम भरेका छन् ।

शुक्रबार बिहानैदेखि सिमसिमे पानीका बावजुद म्यादीको आवेदन दिन छाता ओढेर भए पनि युवायुवतीको लामो लाम लागेको छ । बिहान १० बजेदेखि फारम लिने भए पनि बिहान ८ बजेदेखि नै लाइन लाग्नेहरुको भिड देख्न सकिन्छ ।

जिल्लामा भर्नाका लागि रहेको संख्या भन्दा धेरै बढीले आवेदन दिने अनुमान गरिएको छ । बिहीबारदेखि सुरु भएको आवेदन लिने कार्य असोज ६ गतेसम्म कायम गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।