शुक्रबार, भदौ ३१ गते ।

मकवानपुर । मकवानपुर कांग्रेसमा बिद्रोह गर्नेको शृङ्खला चलिरहेको छ । पुराना काँग्रेस नेता भरत पराजुली रवि लामिछानेले नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी नेपालमा प्रवेश गरेर उनलाई पार्टीले टिकट नै दिएर पठाएपछि मकवानपुर काँग्रेसमा यो विषयले अहिले तहल्का पिटिरहेको छ ।

काँग्रेसको राजनीति करिबकरिब ३०/३२ वर्ष गरेका पराजुलीले पार्टीमा बिद्रोह गरेपछी अर्की पुराना काँग्रेस महिला नेतृ रिता खनालले पनि केही दिन अघि मात्रै कांग्रेस परित्याग गर्दै विपी कांग्रेसमा प्रवेश गरेकी छिन् । हक्की र प्रष्टवक्ताको रुपमा पार्टीमा छवि बनाएकी नेतृ खनालले पार्टीमा बिद्रोह गर्ने छनक अन्य नेताले पाए पनि उनलाई कुनै पनि कांग्रेस नेताले रोक्न त के सोधपुछ गर्न समेत उचित ठानेनन् ।

मकवानपुर काँग्रेसमा नेतृ खनालको पनि करिबकरिब तीन दशकदेखिको नै लगानी छ । उनलाई कांग्रेसबाट बिद्रोह गर्न बाध्य बनाउने मकवानपुर काँग्रेसको एउटा टिम नै लागेको उनले बताईन । कांग्रेसको १४ औं महाधिवेशनमा उनलाई बुथ प्रतिनिधिमै हराउन निक्कै प्रयास गरेका थिए । तर त्यो प्रयास भने सफल हुन सकेनन् । नेतृ खनालले कांग्रेसभित्र निष्ठाको राजनिति सकिएको र कांग्रेसभित्र बढि गुटबन्दी चलखेल हुने भएको भन्दै अब शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा बस्नुको कुनै अर्थ नदेखेरै विपी कांग्रेसमा लागेको उनको भनाइ छ ।

काँग्रेस पार्टीमा पुराना नेतालाई पाखा लगाउने र नयाँलाई गुटबन्दी गरेर काखी च्याप्ने प्रचलन सुरु भएको देखिन्छ । यसैको ज्वलन्त उदाहरण आगामी मङ्सिर ४ को निर्वाचनको लागि सिफारिस हुनेहरुको नाम हेर्दा पनि प्रष्ट हुने काँग्रेस जिल्ला सदस्य नेताहरु नै स्वीकार गर्छन् । लामो समयदेखी पार्टीलाई योगदान गरेका नेता पराजुली र खनालले अरु पार्टीमा प्रवेश गरेसँगै अब मकवानपुरका अन्य नेताहरु पनि गुटबन्दी मौलाएको आरोप लगाउँदै कांग्रेसमा बिद्रोह गर्ने गरि तयारी गरिरहेको काँग्रेस चोकतिर व्यापक सुन्न सकिन्छ ।

साथै गएको स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरको मेयरको टिकट पार्टीभित्रको आन्तरिक गुटबन्दीका कारणले एकीकृत समाजवादीलाई बुझाएको भन्दै मकवानपुरे काँग्रेसमा चित्त दुखाई बढेको हो । गुटबन्दीकै कारणले आनन्दराम पराजुलीको करिबकरिब पक्कापक्की नै भईसकेको मेयरको टिकट पनि गठबन्धनको नाममा समाजवादीका मिना लामालाई सुम्पेको घटनाले पनि मकवानपुरे काँग्रेस कार्यकर्तामाझ फाटो सिर्जना गरेको हो ।

पार्टीले एउटा सुनौलो इतिहास रच्ने बेलामा पनि आन्तरिक गुटबन्दीले एकीकृत समाजवादीलाई मेयर दान गरेपछि उपमेयरमा चित्त बुझाएको मकवानपुरे कांग्रेसले आगामी निर्वाचनमा आनन्दराम पराजुलीलाई टिकट नदिए ठुलै उथलपुथल हुने जिल्ला तहका काँग्रेस नेताहरु बताउँछन् । मकवानपुर कांग्रेसभित्र गुटबन्दीले सिमा पार गरिसकेको ठानेर पुराना कांग्रेसीहरुले यसको खुलेर विरोध गरिरहेका छन् ।

बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले खाता खोलेर मकवानपुरमा कांग्रेसको झणडा फरफराएका थिए । तर पार्टीमा गुटबन्दी व्यापक हुन थालेपछि कांग्रेसमा बिद्रोह गर्नेहरु पनि अहिले छताछुल्ल हुनेगरी देखा पर्न थालेका हुन् । कांग्रेसको १४औं महाधिवेशन र गत स्थानीय तहको निर्वाचनदेखी भड्कीएका कांग्रेसी कार्यकर्ताहरुले अहिले खुलेर बिरोध गर्न थालेका हुन् । साथै गठबन्धनको नाममा पार्टीले कहिले हलो, गाई, हसिँया हतौडा, कलम लगायतका चुनाव चिह्नमा मतदान गर्नुपर्ने उर्दी दिने भएर पनि मकवानपुरे काँग्रेस कार्यकर्ताहरु आजित बनेको नेताहरु बताउछन् ।