शनिबार, असोज ०१ गते ।
मकवानपुर ।
परिचयः डेंगु एक प्रकारको भाइरसबाट लाग्ने रोग हो । यो एडीस  प्रजातीको एडीस एजिप्टी र एडीस एल्बोपेक्टस नामको पोथी लामखुट्टेबाट मानिसमा सर्दछ । यो प्रजातीका लामखुट्टेले डेंगु रोग भएको मानिसलाई  टोकेमा ती भाइरस उक्त लामखुट्टेको पेटमा पुग्दछन् र फेरि स्वस्थ व्यक्तिलाई टोक्दा ती भाइरस स्वस्थ मानिसको शरीरमा प्रबेश गर्दछन् र ३ देखी ७ दिन सम्ममा स्वस्थ मानिसमा पनि रोगका लक्षण देखा पर्न थाल्दछन् ।   

डेंगु सिधै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यो रोग सार्नको लागि  माध्यम लामखुट्टे नै हो । डेंगु  लामखुट्टेले संग्लो, जमेको पानीमा बसेर प्रजनन् क्रिया तिब्र बनाउने गर्छ । त्यसैले डेंगु पानी पर्ने र ओसिलो समयमा बढी फैलने हुन्छ । लगभग २० जना डेंगु प्रभावितमध्ये १ जना बिरामीलाई जटिल समस्या हुनसक्छ र यो रोगको मृत्यु दर १–२ प्रतिशत रहन्छ ।

यो रोगले गर्भवती महिला, साना बच्चाहरुमा र दोहोरिएर भएको डेंगु रोगमा जटिल समस्याहरु आउन सक्छ ।

लक्षणहरु:
अत्याधिक ज्वरो आउनु (१०२ डिग्री फरेनहाइड भन्दा माथि) 
आँखाको वरीपरी ठिक पछाडीको भागमा अत्याधिक दुख्छ ।
छालामा रातो डाबर वा धब्बा आउछ । 
हड्डी दुख्छ ।
यी माथिका लक्षणहरु मुख्य लक्षणहरु हुन् र यस्ता लक्षण देखा परेमा डेंगु रोग  भएको अनुमान गर्न सकिन्छ ।
अन्य लक्षणहरु 
वाकवाकी लाग्छ ।
छटपटी हुन्छ ।
बान्ता हुन्छ । 
शरीरमा बिबिरा आउन सक्छ । 
नाडी कमजोर तथा रक्तचाप कम हुन सक्छ ।
यदि शरीरमा प्लेटलेटको मात्रा कम भएमा शरीरको कुनै पनि ठाउबाट रक्तश्राब हुन सक्छ ।
धेरै रक्तश्राब भएमा बिरामी बेहोस हुन्छ ।
समयममा उपचार नभएमा मानिसको मृत्यु पनि हुन सक्छ । 

उपचार: 
-डेंगु भाइरसको कारणले गर्दा हुने रोग हो र विश्वमा अहिलेसम्म भाइरसलाई मार्ने औषधि बनेको छैन त्यसैले गर्दा यसमा लक्षण अनुसारको उपचार गर्नु पर्ने हुन्छ ।
-ज्वरो कम गर्न प्लेन सिटामोलको प्रयोग गर्ने ।
-ब्रुफिन र स्प्रिन जस्ता औषधिको प्रयोग नगर्ने किनकी यस्ता औषधिको प्रयोगले रगत पातलो बनाइ धेरै रक्तश्राब हुने भएकाले जोखिम बढ्न सक्छ ।
-बिरामीलाई आराम गराउने । 
-बिरामीलाई झोलिलो र चाँडै पच्ने खालको खानेकुराहरु दिने ।
-यदि बच्चा, गर्भवती महिला र डेंगु दोहोरिएर भएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर जाँच गराउने ।
-होमियोप्याथिक  उपचारपद्धती अनुसार लक्षणका आधारमा औषधि दिइने हुँदा यो रोगमा होमियोप्याथिक उपचार लाभप्रद देखिन्छ ।
-वान्ता, चक्कर र छटपटी लागि शरीर कमजोर भइ  बेहोस भएमा तुरुन्त अस्पताल भर्ना गर्ने ।
-शरीरमा पानीको मात्र कम हुने हुदा एकदम झोलिलो खाने कुरा दिने ।

सावधानी:
डेंगु सार्ने लामखुट्टे सफा जमेको र एकदम कम पानीमा पनि यसले आफ्नो प्रजनन् प्रक्रिया पूरा गरी संख्या बढाउने हुँदा पानी जम्न दिनु हुँदैन ।
यो प्रजातीको लामखुट्टे उज्यालो समयमा बढी सक्रिय हुने हुँदा बिहान सूर्य उदाएपछि र बेलुका सूर्य अस्ताउनु भन्दा अगाडी यसबाट बच्ने उपायहरु अपनाउनु पर्छ ।
झुल टाँगेर मात्र सुत्ने बानी बसाल्ने । 
गाउँ, टोल र  बस्तीहरु सफा राख्ने । 
लामखुट्टेको टोकाईबाट बच्ने क्रिमहरु लगाउने ।
लामखुट्टे भगाउने धुप बालेर सुत्ने । 
विभिन्न चिकित्सा पद्दती अनुसार तितो चिराइतो, निमपती मेवाको पात लगायतका औषधिहरु खानुपर्छ भन्ने मान्यता भएको हुँदा धेरै जनाले त्यसो गरेको पाइन्छ तर नाडीको गती र रक्तचाप कम भएको छ भने त्यस्तो बेलामा तितोले गर्दा बिरामीको अवस्था झन् जोखिममा पर्न सक्छ यस्ता कुरामा चिकित्सकको सल्लाहमा मात्र यस्ता औषधिहरु सेवन गर्ने ।

विभिन्न अनुसन्धानबाट प्राप्त जानकारी अनुसार फगिङ वा धुवा लगाएर लामखुट्टे मार्ने पद्धतीबाट केहि हदसम्म मरे पनि त्यसबाट सम्पूर्ण लार्भाहरु नस्ट नहुने हुँदा यो विकल्प पनि अपुरो छ । त्यसै कारणले गर्दा  पानी जम्ने श्रोत नस्ट गर्नु नै सबैभन्दा राम्रो विकल्प हुन सक्छ । 

सरकारको दायित्व:
जनचेतनाका कार्यक्रमहरु गरी अभियानहरु चलाउने
– डेंगु चेक जाँचमा सहजता बनाउने ।
-उपचारलाई सरल सहज र कम खर्चिलो बनाउने खालका योजना, नीति र कार्यक्रमहरु ल्याउने ।
-जोखिम क्षेत्रको अध्ययन गरी क्षती कम गराउने खालका  योजनाहरु बनाउने ।
-यस्तो महामारीमा विभिन्न स्वास्थ्य संस्थाहरुले आफूखुसी दर रेट बढाएर डेंगीको चेक जाँच गर्ने गरेको पाइएको हुँदा त्यस्ता प्रकारको अबैधानिक गैरजिमेवारी कामको नियन्त्रण गर्ने ।
-त्रास फैलन नदिने तर सही समाचार सम्प्रेषण गर्ने ।
-संचार क्षेत्रको सहयोग लिने ।
-महामारीको समय भएको हुँदा प्राइभेट स्वास्थ्य संस्थालाई पनि सहुलियत दरमा उपचार गराउनको लागि आग्रह गर्ने ।
-सबै संघसस्था र शिक्षकहरुलाई प्रतिनिधिमुलक  तालिम गराउने ।
-डेंगु लागिसकेको मानिसलाई सुरक्षित र झुल भित्र राख्नु पर्छ, नत्र एडीस प्रजातीका लामखुट्टेले संक्रमित व्यक्तिलाई टोक्दा गाउँघर र शहर सबै ठाँउमा संक्रमण बढ्ने सम्भावना हुन्छ, त्यसैले लक्षित गरिब परिवारलाई  झुल वितरण गर्ने  कार्यक्रम ल्याउने ।
लेखक डा:  खगेन्द्र ओलि इटहरीस्थित इन्खा एकीकृत अस्पतालका अध्यक्ष हुन् । ) #स्वास्थ्य खबर