सोमबार, असोज ०३ गते ।

मकवानपुर । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी पार्टीले उम्मेदवारको छिनोफानो नगर्दै जनताको घर-घरमा पुगेर भोट माग्न उम्मेदवारहरु ब्यस्त भैरहेका छन् । सायद उम्मेदवारको छिनोफानो पार्टीले नगरे पनि यसपाली आफ्नै पोल्टोमा टिकट पर्ने कुरामा ढुक्क हुने नेताहरु जनताका घर-घर डुल्दै आफ्नो योजना सुनाउदै छन् । निर्वाचनको बेलामा मात्रै नाक मुख देखाउन आउने नेताहरुले हिजोआज घरदेखी लिएर अस्पतालका बेडहरुसम्म पुगेर पनि आफ्न नजिकका कार्यकर्ता भेट्न समय खर्चिरहेको देख्न सकिन्छ ।

यसरी समय धेरै खर्चिने सम्भावित उम्मेदवारहरुको पहिलो सुचीमा मकवानपुरका रैथाने राप्रपा नेपालका नेता कमल थापा नै पर्छन् । थापाले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । जब निर्वाचनको चटारो पर्छ अनि मात्रै जिल्ला ध्याउन सिपालु नेता थापाले जिल्लाका राप्रपा नेताहरुदेखी लिएर अस्पतालमा भर्ना भएका मतदाताहरुसम्मलाई समय दिईरहेको छ । उनले पार्टी प्रबेशसम्मका कार्यक्रमहरु पनि गर्न भ्याईरहेका छन् ।

मकवानपुरका रैथाने नेता थापासँग आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना प्रतिस्पर्धामा छिन् । डिना पनि मकवानपुरका रैथाने महिला नेतृ हुन् । मकवानपुरलाई राजनीतिक आधार क्षेत्र बनाएर उनी हरेक पटक निर्वाचनमा भाग लिदै आईरहेकी छिन् । डिनाले पनि टिकट आफ्नो पोल्टोमा करिबकरिब परिसकेको मेसो पाएदेखि जिल्लामा भेटघाटलाई तीव्रता दिइरहेकी छिन् । यस्तै डिना र थापाको कडा प्रतिस्पर्धाका बिच आगामी निर्वाचनमा राप्रपाका केन्द्रीय सदस्य दिपक बहादुर सिंहले निक्कै चुनौती दिने देखिन्छन्  ।

मकवानपुरको क्षेत्र न: १ बाट महालक्ष्मी उपाध्याय डिना कमल थापा र दिपक बहादुर सिंहबीच त्रिपक्षीय भिडन्त हुने करिबकरिब पक्कापक्की भईरहेको छ । क्षेत्र न: १ मा उम्मेदवार बन्न लागिपरेका तिनै जना उम्मेदवारहरु पटक–पटक संसदीय निर्वाचन हारेका नेताहरु भएकाले पनि यसपालि त्रिपक्षीय भिडन्त निक्कै रोचक बन्ने देखिन्छ । २०४६ मा बहुदलीय व्यवस्थाको स्थापनापछि भएको चारपटकको भिडन्तमा कमल थापा तीन पटक हारिसकेका छन् । यतातिर डिना र सिंहले पनि हालसम्म प्रत्यक्ष निर्वाचन जित्न सकेका छैनन् ।
एमालेको समर्थनमा थापा, गठबन्धनबाट डिना र राप्रपाबाट सिंह उम्मेदवार बन्दै छन् । एमालेको साथ पाउने झिनो आसा बोकेर थापा निर्वाचनमा होमिएको मकवानपुरका नेताहरु बताउछन् ।

काँग्रेसका महिला नेतृ डिनालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर सभापतिले टिकट दिने पक्कापक्की भईसकेको छ । उता सिंहले पनि विगत केही समयदेखि आफ्नो निर्वाचन क्षेत्रभित्र पार्टीको गतिविधिलाई तिब्रता दिइरहेका छन् । साथै राप्रपाले मकवानपुरका विभिन्न गाउँपालिका कमिटीदेखि लिएर हेटौँडा उपमहानगरपालिकाका अधिकांश वडाहरुमा समेत पार्टी कमिटीलाई विस्तार गरिसकेका छन् ।

एमालेको सहारा पाउने झिनो आसा बोकेर निर्वाचनमा होमिएका कमल थापाले आफ्नो आगामी निर्वाचन अन्तिम भएको बताईसकेका छन् । उनले अन्तिम निर्वाचन लड्न लागिरहेको बताउदै जिल्लाबासीको लागि जितेर केही गर्ने इच्छा रहेको र उक्त अवसर एकपटक दिन मतदातालाई घर-घर पुगेर आग्रह गरिसकेको छ ।
पञ्चायतकालको समयमा राजनीतिमा आफ्नो प्रभाव जमाउन सफल नेता थापालाई ‘मुसा’ प्रवृति बोकेको नेताका रुपमा चिन्छन् । २०५१ देखि हालसम्म ९ पटकसम्म मन्त्री बनिसकेका उनले मकवानपुरमा केही नगरेको आरोप खेप्दै आईरहेका छन् । राजतन्त्रदेखि गणतन्त्रसम्म आईपुग्दा पनि थापाले सत्ता मोह भने अझै छाडेका छैनन् । जहिले पनि शक्तिकेन्द्रमा रमाउन चाहाने थापालाई भने आफ्नै जिल्लाका मतदाताले पाँचपटक निर्वाचन उठेकोमा उनलाई चारपटकसम्म हारको स्वाद  चखाई दिएका छन् ।

नेता थापा चारपटक नै एमालेका नेता कृष्ण प्रसाद दाहालसँग हारेका हुने । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो आमनिर्वाचन २०४८, २०५६, २०६४ र २०७४ गरि थापा दाहालसँग नै चारपटक पराजित बनेका हुन् । तर २०५१ को मध्यावधि निर्वाचनमा भने जित निकाल्न सफल बनेका थिए । चार पटकपटकसम्म निर्वाचन जित्न नसकेका थापाले आगामी निर्वाचनमा भने प्रमुख प्रतिपक्षी दल एमालेसँग सहाराको बिन्ती गरिरहेको बताइन्छ । साथै प्रत्यक्ष निर्वाचनमा सधैँ हार्दै आएकी डिनाको रेकर्ड थापाको भन्दा खासै फरक छैन । मकवानपुरमा उनले पनि पटक–पटक कम्युनिस्ट नेताहरुसग हार भोगिरहेकी छिन् । जलस्रोत राज्यमन्त्री समेत हुन सफल मकवानपुरका काँग्रेस महिला नेतृ डिना २०४८ सालको आमनिर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी थिइन् । त्यतिबेला नेकपा एमालेका हाल नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडासँग हारेकी थिईन । त्यस्तै २०५१ सालको मध्यावधि निर्वाचन र २०७४ मा पनि डिनाले हार व्यहोरिन् ।

पुरानो राजनीतिक प्रतिद्वन्दी खतिवडा र डिनाले आगामी निर्वाचनमा भने निर्वाचन क्षेत्र बाँड्ने तयारी गरेका छन् । गठबन्धनबाट क्षेत्र न: २ मा खतिवडा र क्षेत्र न: १ मा डिना उम्मेदवार रहने लगभग पक्का छ । जनताबाट प्रत्यक्ष निर्वाचित हुन नपाएकी डिना २०६४ को निर्वाचनमा भने समानुपातिक कोटाबाट संसद प्रवेश गरेकी थिइन् । सधैं हार्दै आइरहेकी डिनालाई आगामी निर्वाचन जसरी पनि जित्नु पर्ने नैतिक दबाब पनि छ ।

उता गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनले मकवानपुरमा दिपक सिंहको चर्चा व्यापक बनायो । साथै राप्रपाको राजनीति गर्दै आईरहेका उनलाई मकवानपुरमा राजनीतिक सफलता हासिल गर्न मुस्किल परिरहेको छ । तर, गत स्थानीय तह निर्वाचनमा भने हेटौँडा उपमहानगरपालिकाको मेयर निर्वाचन लडेका सिंहले अप्रत्याशित मत ल्याए । जस कारणले पनि उनी मकवानपुर क्षेत्र न: १ बाट थापा र डिनाको टाउको दुखाइ  बनिरहेको नेताहरु बताउछन् । देशभर स्वतन्त्रहरुप्रति मतदाताले देखाएको उदारता सिंहलाई पनि हेटौँडामा मिलेको देखिन्छ । तर, निर्वाचनमा सफलता भने हात पार्न सकेनन् । सिंहले पनि थापा र डिनाले जस्तै हालसम्म उठेका सबै निर्वाचन हारेका छन् । संसदीय निर्वाचनमा सफलताको स्वाद चाख्न नपाएका सिंहले पुनः गत ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा मेयर लडेका थिए । तर, गठबन्धनकी उम्मेदवार मिनाकुमारी लामासँग पराजित बने । अब आगामी निर्वाचनमा भने हेरौं कसले बाजि मार्छन् । मङ्सिर ४ को प्रतीक्षा गरौं ।