मंगलबार, असोज ४ गते ।

मकवानपुर । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै केही दिनसम्म मनसुन कायम रहने संकेत देखिएको छ । यो वर्ष नेपालमा मनसुन साधारण मितिभन्दा एक हप्ता अघिनै अर्थात् जुन २२ मा प्रवेश गरेको थियो । त्यस अर्थमा सोही अनुपातमा मनसुन बाहिरिने आँकलन गरिएको थियो ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि फुलपातीको दिनलाई औसत मिति पारेर २-४ दिन तलमाथि पारेर बाहिरिने मौसमविद्ले जानकारी दिएका छन् ।

मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरू हुनुपर्छ । अहिले पनि मनसुन सक्रिय रही हल्कादेखि सामान्य वर्षा भइरहेको छ भने केही ठाउँमा भारी वर्षा भइरहेको छ । यसैले मनसुन अझै हप्ता-दश दिनसम्म कायम रहने सङ्केत देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

‘यसपालिको साधारणतया मनसुन सकिने मिति अक्टुर २ अर्थात असोज १६ हो । अब त्यहीँ मितिमा सकिन्छ भन्ने हुँदैन त्यसको २-५ दिन तलमाथि हुनसक्छ’, अधिकारीले सेतोपाटीसँग भने, ‘भारतको राजस्थानतिरबाट हटेर नेपालको पश्चिमबाट हट्दै हट्दै आउनु पर्ने हुन्छ । राजस्थानमा आज भोलिमै हट्ने छ । त्यो क्रम बिस्तारै नेपालमा आउँछ ।’

अघिल्लो वर्ष पनि दशैंकै आसपास अर्थात अक्टुबर ६ मा भारतमा सकिएको मनसुन केही दिनपछि नेपालमा सकिएको थियो । सोही अनुसार यस वर्ष पनि सेप्टेम्बरमा नसकिएर अक्टोबरसम्म मनसुन पुग्ने देखिएको हो । 
‘मनसुन सधैं एकै समय सकिन्छ भन्ने हुँदैन मनसुन औसतमा सेप्टेम्बर २३ मा बाहिरिनु पर्ने हो । कहिले त्यो भन्दा अगाडि र पछाडि हुन्छ । यसपालिको औसत अक्टुबर २ छ । पछिल्लो केही वर्षको तथ्यांक हेर्दा नेपालमा सेप्टेम्बरमा मनसुन नसकिएर अक्टोबरसम्म पुग्ने गरेको छ’, उनले भने ।

यसपालि दसैंको फुलपातीलाई औसत मिति मानेर २-५ दिन तलमाथि नेपालमा मनसुन अन्त्य हुने उनले बताए ।
विगत १८ वर्ष अवधिको मौसमी तथ्याङ्क हेर्दा नेपालमा पाँच वर्ष मात्र जुन १० अघि मनसुन प्रवेश गरेको छ भने अरू वर्ष ढिला नै प्रवेश भएको छ । मनसुन कायम रहने मिति पनि पछाडि धकेलिँदै गएको छ । मौसमी तथ्याङ्क हेर्दा सन् २००२ बाहेक सबै वर्ष मनसुन औसत भन्दा ढिलासम्म सक्रिय रहेको छ । सन् २०१३ मा त नेपालमा अक्टोबर १९ सम्म मनसुन सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बताउँछन् ।

नेपालमा मुख्यगरी मनसुन बङ्गालको खाडीबाट प्रवेश गर्छ । केही मात्रामा अरेबियन सागरबाट समेत प्रवेश गर्ने गरेको छ । नेपालमा हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्य सागरबाट प्रवेश गर्ने गरेको छ । नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिनामा मनसुनको समयमा कूल वर्षाको ८० प्रतिशत वर्षा हुन्छ । यसैगरी प्रि मनसुनको समय (मार्चदेखि मेसम्म) मा करिब १२, मनसुनपछि (अक्टोबर र नोभेम्बर) चार र हिउँद् (डिसेम्बरदेखि फेब्रुअरी) तीन दशमलव पाँच प्रतिशत वर्षा हुने गरेको छ ।

हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपास छ । भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापीय प्रणाली रहेको छ । अर्को न्यून चापीय प्रणाली भारतको उत्तर प्रदेशमा रहेको छ ।
हाल नेपालमा अरब सागर र बङ्गालको खाडीबाट आइरहेको जलवाष्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केही सक्रिय रहेको महाशाखाले जनाएको छ ।
आगामी मंगलबारसम्म देशभरका मौसम सामान्य बदली रहने र पूर्व र मध्यका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ ।

आज (मंगलबार) पनि देशभर वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले बिहान पनि मधेस प्रदेश, प्रदेश १ का थोरै स्थानमा तथा सुदूरपश्चिम र गण्डकीका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अधिकारी बताउँछन् । उनका अनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली छ । यस क्रममा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै राति पनि लुम्बिनी प्रदेश र देशका पहाडी भेगका केही स्थानमा तथा तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ । यस क्रममा गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए । 
यसैबीच आज दिउँसो काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले दिए ।
हाल काठमाडौं उपत्यकाको तापक्रम २१ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।