मंगलबार, आश्विन ४ गते ।

मकवानपुर । व्यस्त राजमार्ग । तीव्र गतिमा गुडिरहेका सवारीसाधन । उस्तै छ यात्रुको आवतजावत । लाग्छ, गन्तव्य पुग्न सबैलाई हतार छ । तर, त्यही राजमार्गछेउ हिँडिरहेकी ६ वर्षीया मनीषा परियारलाई कुनै हतार देखिएन । उनी सुस्त चालमा आफ्नो गन्तव्य पछ्याउँदै थिइन् ।
यी दृश्य मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित राजमार्गका हुन् । जसमा मनीषाको यात्रा फरक थियो । उनी सानी छिन् । अभिभावकको सहारा लिएर हिँड्नुपर्ने उमेर छ । तर, एक वर्षकी बहिनी प्रीतिलाई पिठ्युँमा बोकेर स्कुलबाट घर फर्किरहेकी थिइन् ।

बहिनीलाई बोकेर हिँडिरहँदा पछि–पछि थिइन् उनकी हजुरआमा मीना । दमको बिमारीका कारण ५५ वर्षीया मीनालाई छिटो र धेरै हिँड्न गाह्रो छ । त्यसैले उनी सम्हालिएर र सुस्त गतिमा पाइला लम्काइरहेकी थिइन् । बेला–बेला टक्क अडिएर अघिअघि हिँडिरहेकी नातिनीलाई बिस्तारै हिँड्न सुझाउँथिन् ।

स्कुलको झोला बोकेर पछि–पछि हिँडिरहेकी उनीसँगै थिइन् अर्की नातिनी खुसी । मीनाले बोकेको झोला भने मनीषाको हो । मनीषा र खुसी स्थानीय विद्यालयमा कक्षा १ मा पढ्छन् । उनीहरू दुवै जनालाई हजुरआमा मीनाले दिनहुँ लैजाने र ल्याउने गर्छिन् ।

शारीरिक अस्वस्थताका कारण उनलाई स्कुल जान झन्डै एक घण्टा लाग्छ । आउजाउ गर्दा दिनमा चार घण्टा बित्छ । नातिनीहरू पु¥याउन बिहान ९ बजे र लिन दिउँसो ३ बजे स्कुल जाने गरेको उनले सुनाइन् ।
घरमा हजुरआमा र हजुरबुवा मात्रै रहेका कारण प्रीतिलाई पनि स्कुलमै लिएर जान्छन् । जाँदा हजुरआमासँग हिँडेर जाने उनलाई फर्किंदा दिदी मनीषाले बोकेर ल्याउने गरेकी छन् ।

मीनाका दुई छोरी सन्दिपा र रोशनी रोजगारीको खोजी गर्दै भारत गएका छन् । उनको दैनिकी नातिनीहरूको हेरचाहमै बित्ने गरेको छ । ‘म बोक्न सक्दिनँ । दम रोगका कारण मलाई धेरै हिँड्न पनि गाह्रो हुन्छ । त्यसैले उ (मनीषा) आफैंले बोक्छिन्’, मीनाले भनिन्, ‘उसको झोला म बोकिदिन्छु । अनि उसले बहिनी बोकेर घर ल्याउँछिन्।’ मनीषाले प्रीतिलाई बोकेर झन्डै एक घण्टामा घर ल्याउने गरेको मीनाले सुनाइन् ।

उनका अनुसार मनीषा र खुसी सन्दिपाका र प्रीति रोशनीकी छोरी हुन् । तीनै जनालाई मीनाले हेरचाह गर्दै आएकी छन् । यो परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर छ । मीनाका पति पनि दम रोगका कारण घरमै बस्छन् । छोरीहरू काम गर्न भारत गएपछि तीन नातिनीको जिम्मेवारी सम्हालेर भाडाको घरमा बस्दै आएकी छन् ।

आर्थिक अभावका कारण उपचार गर्न गाह्रो भएको पीडा उनले सुनाइन् । ‘श्रीमान् आफैं थला परेर बसेका छन् । म पनि बिरामी छु । उपचार गराउन पैसा छैन’, उनले भनिन्, ‘छोरीहरू काम खोज्दै भारत गए । म यता जसोतसो गुजारा टार्दै आएकी छु ।’ यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।