शनिबार, असोज ८ गते ।

मकवानपुर । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरले समानुपातिकको बन्दसूची नसच्याए र प्रतिनिधिसभाको टिकट वितरणमा अन्याय कायमै रहे विद्रोहको चेतावनी दिएको छ । राजधानीमा शनिबार खबरदारी सभा गर्दै त्यस पक्षका नेताहरुले यस्तो चेतावनी दिएका हुन् ।

कार्यक्रममा बोल्दै नेता जगदिश्वरनर सिंह केसीले गठबन्धनका पाँच दल मिलाउन निरन्तर छलफल गर्नसक्ने सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउन १८ मिनेटपनि छलफल नगरेको बताए । सभापतिमा निर्वाचित भएपछि गुटको नभई सबैको नेता हुने बताए पनि देउवा त्यसभन्दा माथि उठ्न नसकेको उनले बताएका छन् ।

‘गठबन्धनका नेता रिझाउन १८ घण्टासम्म छलफल गर्ने हाम्रा सभापतिले हामीलाई १८ मिनेट पनि समय दिनुभएको छैन। उहाँ गुटभन्दा माथि उठ्न सक्नुभएन । समानुपातिकको सूची नसच्चिए हामी विद्रोह गर्छौँ’, उनले भने । कार्यक्रममा बोल्दै नेता गुरूराज घिमिरेले पार्टीभित्रको अन्याय सच्याउनका निम्ति विनम्रपूर्वक गरिएको खबरदारीको सुनुवाइ नभए विद्रोह हुने चेतावनी दिए । ‘नेपाली कांग्रेसभित्र अहिले समान्तवाद मौलाएको छ। एकलौटी रूपमा टिकट दिएर सबैलाई जिताउने तागत छ भने दिए हुन्छ । होइन भने सबैलाई न्याय गर्नुस्। हामी विनम्रतापूर्वक आग्रह गरिरहेका छौँ । सुनुवाई नभए विद्रोह गर्छौँ’, उनले भने ।

यस्तै नेता अजय द्वेवेदीले पार्टीले सभापतिले बहुमतको बलमा अन्याय गरेको आरोप लगाए । ‘जहाँ अन्याय हुन्छ त्यहाँ विद्रोह हुन्छ। विभेद र अन्याय स्वीकार्य छैन,’ उनको भनाइ छ । त्यस समुहका नेता भरत खड्काले भने आफ्नै समुहको कमजोरीका कारण पनि अन्याय भएको बताए । टिकट वितरणको समुहमा चित्त नबुझेको भए केन्द्रीय समितिमा नोट अफ डिसेन्ट लेख्नु पर्ने उनको भनाइ थियो ।

‘हाम्रै पक्षबाट पनि कमजोरी भएका छन् । केन्द्रीय समितिमा नोट अफ डिसेन्ट किन लेखिएन । यो लोकतन्त्र हो। चित्त नबुझेको विषयमा कमिटीमा विरोध गर्न पाइन्छ हामीले त्यहाँ कमजोरी गर्‍यौँ,’ उनले भने ।
खबरदारी सभामा बोल्दै नेता शोभा अधिकारीले सभापतिको एकलौटी राज पार्टीमा नचल्ने बताइन् । सबैलाई न्याय गर्नु र पार्टीलाई एकतावद्ध बनाउने दायित्व सभापतिको रहेको उनको भनाइ छ । त्यस समुहले आफूहरुले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा न्यायोचित रूपमा टिकट पाउनु पर्ने बताएका छन् ।
‘पहिले देउवाले ४० प्रतिशत पाउने अहिले हामीले नपाउने भन्ने हुँदैन’, नेता मनोजमणि आचार्यले भने ।
टिकट वितरणमा दबाब दिनका निम्ति त्यस समूहले बालुवाटार घेराउन देखि रिले अनसनसम्मको तयारी गरेको छ ।