सोमबार, आश्विन १० गते ।

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नयाँ घरमा सरेका छन् । भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा रहेको दाहाल टोलमा बनेको एकतले घरमा दाहाल आज सरेका हुन् ।

प्रचण्डसहित उनको पत्नी सीता दाहाल नयाँ घरमा सरेका हुन् । करिब १० कट्ठा जमिनको बिचमा घर बनाइएको छ । सो घर माघ महिनाबाट बनाउन सुरु गरिएको थियो । निर्माणको जिम्मा शिवनगरका बेगबहादुर गुरूङले प्रतिस्क्वायर फिट ४६० रुपैयाँ पाउने गरी लिएका थिए । ५० फिट लम्बाइ ३५ फिट चौडाई रहेको छ । जमिन दाहालको पैतृक सम्पत्ति हो ।  

बाबु मुक्तिराम दाहालले २०४८ सालतिर यहाँको रहेको केही जमिन बिक्री गरेपछि करिब ६ कट्ठा मात्रै बाँकी रहेको थियो । २०७४ को चुनावमा भरतपुर महानगरपालिका वडा नं.१४ शिवनगरमा घर भाडामा लिएर केही महिना बसेका दाहालले त्यही वडामा घर बनाएका छन् ।  

अहिले प्रतिनिधि सभाको चुनावको मिति घोषणा संगै दाहाल आफ्नै घरमा सरेका हुन् । पत्नी सीता दाहाललाई पनि सोही घरमा केही दिन बस्ने छिन् ।  दाहाल भोलि बिहान सडक मार्गको प्रयोग गरेर राजधानी कार्यक्रममा फर्कने छन् ।