मंगलबार, असोज १० गते ।

मकवानपुर । राक्सिराङ्ग गाउँपालिका ५ का वीर बहादुर चेपाङ अहिले ७० वर्षको हुनुभयो । उहाँको जीवनकालमा ६० वटा भन्दा धेरै दशैँको प्रत्यक्ष अनुभव छ तर पछिल्ला १२-१३ वटा दशैँ भने वीर बहादुरलाई दशैँ जस्तो लागेको छैन । झन्डै ९/१० वर्ष अघिदेखि माटोको घरहरु भत्काएर कङ्क्रिट र सिमेन्टको नयाँ घर बनाउन थालेपछी राक्सिराङ्गमा रातो माटो र कमेरोले घर लितपोत गर्नु त परैजाओस् तिनलाई देख्न समेत नपाएको उहाँ बताउनु हुन्छ । 

‘जति नै दुःख भए पनि घटस्थापना आउनु भन्दा केही दिन अघिदेखि नै पहेँलो रङ र रातो माटो तथा कमेरो ल्याएर घर चिटिक्क पार्दा दशैँ आए झैँ लाग्थ्यो तर अहिले सुख भए पनि दशैँ जस्तो लाग्दैन’, वीर बहादुरको भनाइ छ । उहाँ जस्तै रातो माटो र कमेरोले पोतेका घर नदेख्दा ७० काट्नु भएकी राक्सिराङ्ग गाउँपालिका ८ कि तुलसी माया चेपाङले पनि आजकालको दशैँ खल्लो लाग्ने गरेको बताउनु हुन्छ । ‘जमाना अनुसार चल्नै पर्ने, के–के हो के–के रङ लगाएर घर त रङ्ग्याइन्छ तर रातो माटो र कमेरो जस्तो हुँदो रहेन छ’, उहाँ भन्नुहुन्छ ।

विगतमा दशैँ र तिहारका समयमा रातोमाटो र कमेरोले घर रङ्ग्याउने प्रचलन राक्सिराङ्ग गाउँपालिका भरी नै हराउँदै गईरहेको छ । विशेष गरी परम्परागत शैलीका ढुङ्गा, माटो तथा काठ प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्दथ्यो । पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि ती वस्तुको प्रचलन हराउँदै गएको हो । पितृपक्ष सकिए लगत्तै घटस्थापनादेखि दशैँ सुरु हुन्छ । दशैँ सुरु हुन साथ सबैभन्दा पहिले आफ्नो घर, आँगन सफा गर्ने तथा रङ रोगन गर्ने चलन थियो । घटस्थापनाका दिन जमरा राख्नु अघि घरलाई रातो माटो र कमेरोले चिटिक्क पारेर लितपोत गरी घरलाई चोखो पारेर जमरा राख्ने गरिन्थ्यो तर पछिल्ला केही वर्षयता राक्सिराङ्गको सबै वडातिर पनि कङ्क्रिट तथा सिमेन्टको घर बन्ने क्रम बढेपछि रातो माटो र कमेरोले लिपेका घर देखिन छोडेका हुन् ।

केही वर्ष पहिले राक्सिराङ्गका स्थानीयहरु रातो माटो पाउने डाँडाहरुमा दशैँ आउनु अगाडिदेखि नै रातो माटो लिन आउनेको भिड लाग्थ्यो तर पछिल्ला केही वर्षदेखि रातो माटो लिन आउने मान्छे न्यून छन् । आधुनिकता सँगसँगै विकासको लहर गाउँमा पसेपछि रातो माटो र कमेरोले लिपेका घर आजकल निक्कै कम देखिन्छन् । कङ्क्रिट र सिमेन्टको घरमा बजारबाट कृत्रिम रङ ल्याएर घर रङ्ग्याउने चलन बढेसँगै रातो माटो र कमेराले घर पोत्ने चलन हराउँदै जान लागेको स्थानीयहरु बताउनु हुन्छ । कुनै बेला दशैँ आउनु पहिलै रातो माटोले घर लितपोत गरेर चिटिक्क पार्ने, बाबियोको डोरीको लिङ्गे पिङ बनाउने, सबै मिलेर गाउँका बाटाघाटा र मठमन्दिर सफाइ गर्ने गरिन्थ्यो तर आजकाल आधुनिकताका नाममा यस्ता चलन हराउँदै गएको र समाज साघुँरिदै गएको स्थानीयहरुको भनाइ छ ।

केही वर्षअघि घरमा रातो माटो र कमेरोले लितपोत गर्नु दशैँ तिहारसँगै संस्कृतिको अर्को पाटो जस्तै बन्ने गरेको थियो । आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि अहिलेका पुस्तालाई भने ती कुरा इतिहास जस्तै बन्ने गरेका छन् ।’ त्यति मात्रै होइन दशैँ आएसँगै दशैँका लागि आवश्यक चिउरा, चामल, तेल गाउँकै ढिँकी, जाँतो र कोलमा कुटाउने पिसाउने काम गर्ने चलन थियो । तर बढ्दो आधुनिकता र प्रविधिका कारण गाउँमा अहिले ढिकी, जाँतो र कोल पनि हराउँदै गएका छन् । चाडबाडका बेला सुनिने ढिकी, जाँतो र कोलको आवाज अचेल गाउँपालिका भरी नै सुनिन छाडेका छन् ।

आधुनिकता र प्रविधिको बढ्दो प्रयोग र विकाससँगै दशैँ, तिहार लगायत चाडपर्वको मौलिकता घट्दै गएको छ । दशैँ लगायतका चाडपर्व सुरु हुनु अगाडि रातो माटो, कमेराले घर आँगन लितपोत गरेर रङ्ग्याउने र लिङ्गेपिङ हाल्ने, चलन हराउँदै जाँदा चाडपर्व खानपान र आधुनिकताको रमाइलोमा मात्रै सीमित हुँदै गईरहेको स्थानीयहरु गुनासो गर्नुहुन्छ ।