मंगलबार,असोज ११ गते ।

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने भोलि (बुधाबार) चितवन आउँदै छन् । उनले यस अघि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको क्षेत्रमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । चितवन क्षेत्र नम्वर ३ मा यसपटक पनि प्रचण्ड निर्वाचन लड्ने तयारी गरिसकेका छन् ।

सोही क्षेत्र अन्तर्गत पर्ने माडी नगरपालिकाको सभालाई दिउँसो १२ बजे सभापति लामिछानेले सम्बोधन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति धर्मेन्द्र सापकोटाले जानकारी दिए । उनले कार्यक्रममा बृद्धबृद्धालाई सम्मान र थारु जातिको सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने छ ।

कार्यक्रम माडीको बसन्तपुर बजार स्थित मनकामना पार्टी प्यालेसको हल हुनेछ । लामिछाने चितवनबाटै चुनाव लड्ने तयारीका साथ आउन लागेको पार्टी स्रोतले जानकारी दिएको छ । सम्भवत उनले भोलि नै चितवनबाटै उम्मेदवार बन्ने घोषणा गर्न सक्ने छन् । लामिछानेले अहिलेसम्म कहाँबाट निर्वाचन लड्ने भन्ने औपचारिक घोषणा गरिसकेका छैनन् ।