मंगलबार, असोज १८ गते ।

मकवानपुर । बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी) मा तोडफोड भएको छ । आक्रोशित आफन्तहरुको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) कक्ष भित्रमै प्रवेश गरेर मंगलबार तोडफोड गरेको हो ।

तोडफोडबाट लाखौंको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसीयू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणमा क्षति पुगेको छ । आक्रोशित भिडले आइसीयू कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताए ।

‘धेरै बिरामी उपचार भइरहेको बेलामै संवेदनशील कक्षमा पसेर तोडफोड हुनु निन्दनीय छ, देवकोटाले भने–‘अस्पतालले भर्खरको युवालाई बचाउन भनेर हरतवरले प्रयास गरेको हो, शतप्रतिशत निको हुन्छ भन्नेमा कसैले जिम्मा लिन सक्दैन ।’

भरतपुर १३ का ३६ वर्षीय रमेश कुवँरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । उनलाई प्याङक्रियाटाइटिस र उच्च रक्तचापको समस्या भएर अस्पताल लगिएको थियो । अस्पतालले उपचार गर्न सेन्ट्रल भेन खोलेर औषधि दिएको बताएको छ । त्यसलाई आफन्तहरुले घाँटीको शल्यक्रिया भन्दै तोडफोडमा उत्रिएको बताईएको छ ।

मृतककी दिदी सावित्री कुँवरले भाइको उपचारमा अस्पतालले चरम लापरवाही गरेको आरोप लगाईन । घटनाबारे अस्पताल प्रशासनबीच छलफल चलिरहेको बेलामै केही समूहले अस्पतालमा तोडफोड गरेका थिए ।
तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिरामीको मृत्युको सम्बन्धमा अस्पताल प्रशासनसंग वार्ता भइरहेको बेला अराजक समूहले तोडफोड गरेको जनाएको छ ।