बुधबार, असोज २६ गते ।

मकवानपुर । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित हुने पक्का भएकाे छ ।
उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । प्रतिष्पर्धीले उम्मेदवारी फिर्ता लिएपछि उनकाे जित पक्का भएकाे हाे । यद्यपि,औपचारिक घोषणा भने हुन बाँकी छ ।

उमेदवारी फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय छ । गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले बताए ।
निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो १ बजे उनको उमेदवारी फिर्ता भएको सूचना निकाल्नेछ ।
उनको उमेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुने छन् ।