आइतबार, असोज ३० गते ।

मकवानपुर । शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको छ ।
यस अघि नै आफ्नो शरीर दान गरिसकेका जोशीको कसरी अन्त्येष्टि गर्ने भन्ने बारे अहिले किष्ट अस्पताल ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच छलफल हुँदैछ ।

‘यस अघि नै अस्पताललाई आफ्नो शरीर दान गरिसकेका जोशीको कसरी अन्त्येष्टि गर्ने भन्नेबारे छलफल हुँदैछ’, ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जनले भने,‘अब छलफलपछि मात्रै कसरी अन्त्येष्टि गर्ने भन्नेबारे निर्णय हुन्छ ।’
मृत्युपछि आफ्नो शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका जोशीको अन्त्येष्टि कसरी गर्ने भन्नेबारे अहिले छलफल हुन लागेको हो ।

शाताब्दी पुरूष जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने घोषणा गरेका थिए ।
औषत् उमेरमा मृत्यु हुने मान्छेको शरीरको अध्ययन भइरहेको भए पनि १०० वर्ष उमेर कटिसकेको अवस्थामा शरीरको अवस्था कस्तो हुँदोरहेछ ? भन्ने जानकारी मिलोस् भनेर उनले आफ्नो शरीर दान गर्न घोषणा गरेका थिए ।

‘संस्कृतमा एउटा श्लोक छ जीवेम शरदं शतम्’ भन्ने, सोही अनुसार पनि म १०० वर्ष त बाँचिसकेँ । यति समयसम्म मेरो फोक्सोको अवस्था कस्तो थियो ? मुटुको अवस्था कस्तो छ ? सबै जानकारी चिकित्सा क्षेत्रक विद्यार्थीहरुले अध्ययन गरेर पत्ता लगाऊन् भन्ने उद्देश्यले मरणोपरान्त अरू सबै संस्कार गरिसकेपछि शरीर दान गर्न लागेका हौं,’ २०७७ माघ ३० गते आयोजित एक कार्यक्रममा जोशीले भनेका थिए ।

शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताएका थिए । जोशी दम्पतीको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर छोरा अनुराज जोशीसमेतले सहमतिमा हस्ताक्षर गरेका थिए ।