तस्वीर : दिलबहादुर लामा

सोमबार, असोज ३१ गते ।

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ र ९ जोड्ने अस्थायी पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । मुख्य राजमार्गसंग मनहरी ९ को रजैया र वडा नम्बर ५ को दर्दरा, बसन्तपुर र दिल्लिपुर जोड्ने अस्थायी पुल निर्माण सम्पन्न भएको हो । 

राप्ति खोलामा पानीको बहाब घटेपछि स्थानीय ५ नम्बर वडाबासीलाई मुख्य राजमार्गसंग सिधा सम्पर्क रहनको लागि र साना मझ्यौला देखि ठुला लोड सवारीसाधन समेत आवतजावतमा सहज बनाउनको लागि अस्थायी पुल निर्माण गरिएको उपभोक्ता समितिको अध्यक्ष गोबिन्द सापकोटाले बताउनुभयो ।

अस्थायी पुल निर्माणको लागि ५ नम्बर वडाबाट ५ लाखको बजेट समेत छुट्याएको थियो । यो पटक ३२ वटा हिमपाइप, ४० थान जाली १ हजार बोरा गिट्टी बालुवा प्रयोग गरिएकोले यसपटक ठुला लोड गाडी समेत गुड्न सकिने गरि बनाएको समितिका अध्यक्ष सापकोटाले बताउनुभयो । सोमबार नै अस्थायी पुलको ५ नम्बर वडा अध्यक्ष दिपेन्द्र अधिकारी, समाजसेबी रामप्रसाद कालाखेती लगायतले अनुगमन गर्नु भएको थियो ।  

उक्त अस्थायी पुल बनेपछि वडाबासीलाई दैनिक कार्यमा हिड्डुल गर्न लाभान्वित भएको छ । ५ नम्बर वडासग जोड्ने दुइवाट झोलुङ्गे पुल भएपनि साना, ठुला सवारी लिएर बाह्रै महिना गुड्न गाह्रो भएको अवस्थामा हिउदामा अस्थायी पुल र बर्षामा झोलुङ्गे पुलको सहारा लिनु परेको अवस्था रहेको छ ।

साथै पक्की पुल निर्माणको लागि मनहरी गाउँपालिकाले डिपिरा गरिसकेको छ । त्यस्तै संघीय सरकार, बागमती प्रदेशबाट १-१ करोडको बजेट छुट्याए पनि अझै पक्की पुलको काम भने अगाडी बढेको छैन ।