राज्यमन्त्री सन्तबहादुर प्रजा चेपाङ परेवाभिरको सडक खण्डको अबलोकनमा ।

सोमबार, कार्तिक १४ गते ।

मकवानपुर । स्थानीय तहको समेत सहकार्यमा बागमती प्रदेश सरकारले निर्माण गरिरहेकाे मनहरी- मलेखु सडक खण्डकाे अनुगमन गरेका छन् । बागमती प्रदेश सरकारले छुट्याइएकाे बजेटबाट ठेक्काका लागि काम भइरहेका र ठेक्का प्रक्रियामा रहेका सडक तथा पुल याेजनाकाे शुक्रबार राज्यमन्त्री सन्तबहादुर प्रजा चेपाङले अनुगमन तथा निरीक्षण गरेका हुन् ।

मनहरीबाट धादिङकाे मलेखु जाेड्ने ५२ किलाेमिटर सडकलाई पूरा गर्नकाे लागि ४ खण्डमा काम भइरहेकाे छ । प्रदेश सरकारले मनहरी चैनपुर सडकमा १५ कराेडकाे बहुवर्षीय  ठेक्कामार्फत काम भइरहेकाे छ । साे सडककाे प्रगतिबारे राज्यमन्त्री प्रजाले अवलाेकन गरेका थिए । साेही सडक खण्डकाे जिर्खीखाेलामा पुल निर्माणकाे लागि प्रदेश सरकारले ठेक्काकाे तयारी गरेकाे भन्दै उनले साे स्थानकाे पनि अवलाेकन गरेका थिए ।

परेवाभिरमा पहाडी भेगमा गुडने बोलेरो सररर ।

साथै प्रदेश सरकारले चैनपुर-मलेखु सडककाे लागि यसैवर्ष ३० कराेड रुपैयाँ छुट्याएर ठेक्काकाे तयारी गरिरहेकाे पनि राज्यमन्त्री प्रजाले बताए । मनहरी मलेखु सडक अन्तरगत राक्सिराङ्ग गाउँपालिका ४ स्थित परेवाभीरमा निर्माणाधीन सडककाे समेत राज्यमन्त्री प्रजाले निरीक्षण गरेका थिए । ४ कराेड रुपैयाँकाे ठेक्का लगाई रिटेनिङ बाल उठाएर साे सडककाे काम भइरहेकाे छ । वर्षायामका पैदल हिँड्न समेत समस्या हुने साे परेवाभीरमा सडक निर्माणकाे काम करिब ९० प्रतिशत सम्पन्न भइसकेकाे पाइएकाे राज्यमन्त्री प्रजाले बताए ।

‘पुराना फाेटाेहरु सामाजिक सञ्जालमा हालेर परेवाभीरमा बाटाे बनेन भनेर धेरै हल्ला आएपछि कामकाे प्रगति बुझ्न अनुगमनमा आएकाे हुँ । परेवाभीरबाट अहिले गाडी चल्न थालिसकेकाे छ । ९० प्रतिशत भन्दा बढी काम सकिइसकेकाे पाइयाे ।’ राज्यमन्त्री प्रजाले भने -‘चुनावकाे मुखमा भएकाे कामलाई पनि काम गरेन भनेर भ्रम फैल्याउनेहरुकाे विश्वासमा नपर्न म सबैमा आग्रह गर्न चाहन्छु ।’ राज्यमन्त्री प्रजाले राक्सिराङ ४ स्थित घाेरकाेटेमा निर्माण हुन लागेकाे पक्की पुलकाे निर्माणस्थलकाे समेत अवलाेकन गरेका थिए । डिपिआर समेत भइसकेकाे घाेरकाेटे पुलकाे लागि बागमती प्रदेश सरकारले चालू वर्षमा बजेट विनियाेजन गरी ठेक्का प्रकियाकाे अन्तिम तयारीमा रहेकाे छ । अनुगमनमा नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका उपसभापति माेहन नगरकाेटी, कांग्रेस नेता रामकृष्ण चेपाङ, युवा नेता नवराज लामा थिङ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

परेवाभिरमा अटो बोलेरो आवतजावत हुँदै ।