सोमबार, कार्तिक १४ गते ।

मकवानपुर । मनहरी गाउँपालिकामा एमालेको वडा अध्यक्ष उम्मेदवार सानुकान्छा तितुङ कांग्रेस प्रवेश गरेका छन् । स्थानिय तह सदस्य निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवार रहेका तितुङ कांग्रेस प्रवेश गरेको हो ।

एमाले मकवानपुरका जिल्ला समेत रहेका तितुङ स्थानिय चुनावमा मनहरी गाउँपालिका ९ को वडा अध्यक्ष पदका उम्मेदवार हुन् । मनहरी ९ नेकपा (एकीकृत समाजवादी) छोडेर नेकपा एमालेमा फर्किएकी मनहरी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष मनिला बिष्टको वडा पनि हो ।

सोमबार मनहरी ९ रजैयामा आयोजित गठबन्धन आबद्ध दलका महिला संगठनको कार्यकर्ता भेलाका बीच तितुङसहितका नेता कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेमा एमाले जिल्ला सदस्य तितुङ, संगठित सदस्य भगवान रेग्मी, गणेश सुनाम, बिष्णुमाया थिङ गोमा, शेरबहादुर तितुङ लगायतका रहेका छन् ।

कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ख का उम्मेदवार इन्द्रबहादुर बानियाँ, कांग्रेस क्षेत्रीय सभापति रन्जन कालाखेती, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला लगायतका नेताहरुले टीका, खादा र माला लगाएर कांग्रेसको सदस्यता प्रदान गर्दै उनिहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

साथै उक्त कार्यक्रममा प्रदेशसभा सदस्यको उम्मेदवार बानियाँले कांग्रेसप्रती बढ्दो आकर्षणले नै कांग्रेस र गठबन्धनको जित सुनिस्चित देखिएको बताए । गाउँपालिका पार्टी सभापति प्रकाश बर्तौलाले नवप्रवेशीहरुलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिइने प्रतिबद्धता जनाए ।