स्वतन्त्र उम्मेदवार चेपाङको समर्थन लोकतान्त्रिक बामगठबन्धन उम्मेदवार बानियाँलाई ।

मंगलबार, कार्तिक १५ गते ।
मकवानपुर । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका खुसीलाल चेपाङले सोही क्षेत्रका लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार कांग्रेसका इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् ।
मंगलबार साँझ हेटौँडामा पत्रकार सम्मेलन गर्दै चेपाङले समृद्ध र लोकतान्त्रिक नेपालको निर्माण गर्न लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आवश्यक देखिएकोले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर बानियाँलाई समर्थन गरेको घोषणा गरे । नेपाल चेपाङ संघको बागमती प्रदेश अध्यक्ष रहेका उनी माओवादी केन्द्रका नेता पनि हुन् ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगमार्फत मेरो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भए पनि राजनीतिक रूपमा म आफू उम्मेदवार नरहेको पुनः स्पष्ट पार्दै प्रतिनिधिसभा २ को प्रदेश सभा (ख) मा लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्न अपिल गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछु ।’
उनले अब गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफू पनि उम्मेदवारहरूसँगै घरदैलोमा जाने बताए ।
पत्रकार सम्मेलनमा गठबन्धनका उम्मेदवार बानियाँ पनि उपस्थित थिए । उनले उम्मेदवारी निष्क्रिय पारी आफूलाई समर्थन गरेकोमा खुसीलालप्रति आभार प्रकट गरे। ‘मुलुकको आवश्यकता र हितलाई मध्यनजर गरी खुसीलालजीले गठबन्धनलाई सहयोग गर्ने निर्णय गर्नुभएको छ । यो निकै महत्वपूर्ण निर्णय हो,’ उनले भने, ‘उहाँको साथले महत्वपूर्ण सन्देश दिएको छ ।’