सोमबार, कात्तिक २१ गते ।

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा गठबन्धनको सरकार बनेपछि गरिब तथा असहाय जनताको हितका लागि प्राथमिकताका साथ काम गर्ने बताएका छन् । गठबन्धनको राक्सिराङ्ग १,२ र ३ को संयुक्त भेलालाई सोमबार सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले प्रदेशमा एमालेको सरकार हुँदा गरिब, निमुखा जनतालाई उपेक्षा गर्दा आफुले व्यक्तिगत लगानीमै भए पनि सहयोग उपलब्ध गराउँदै आएको बताए ।

‘साँढे ३ वर्ष एमालेले सरकारको नेतृत्व गर्दा यो क्षेत्रका गरिब, निमुखा जनताको लागि के गर्‍यो ? मैले सदनमा पनि यो कुरा उठाए, सरकारले केही नगरेपछि मैले नीजि खर्चमा भए पनि गरिब दुःखीको सेवा गरेको छु । अब गठबन्धनको सरकार आएपछि हामी योजना बनाएरै काम गर्छौँ ।’ उनले भने । उनले व्यवस्थाको रक्षा गर्दै अब जनताको अवस्था बदल्ने बताए । उनले गठबन्धनकै बलमा प्रतिगमनकारीहरुलाई बार्दलीसम्म पुर्‍याएको बताउँदै यो निर्वाचनबाट परास्त गरिने बताए ।

माओवादी केन्द्र राक्सिराङ्गका अध्यक्ष ओमकार घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा संघीय उम्मेदवार विरोध खतिवडा, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, कांग्रेस मकवानपुरका सचिव ईश्वर पठाक, कांग्रेस नेता रामकृष्ण प्रजा, पालिका सभापति विरेन्द्र जिम्बा, उपसभापति मोहन कुमार नगरकोटी चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुशीलाल चेपाङ्ग, कांग्रेस नेता पदमबहादुर तितुङ, राजकुमार मल्ल, सन्तबहादुर चेपाङ, नेतृ पूर्णिमा दोङ्ग, रजनी थापा, उमा दाहाल, एकीकृत समाजवादीका नेता राजाराम स्याङ्तान, कृष्णबहादुर चेपाङ, माओवादी केन्द्रका नेता ओम घलान लगायतको उपस्थिति रहेको थियो ।

साथै उक्त कार्यक्रममा कलाकार सरोज लामिछाने, उर्गेन दोङ, शिवा भण्डारी, करिष्मा ढकाल लगायत विभिन्न कांग्रेसका गीतहरु गाएर नेता तथा कार्यकर्ताहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।