मंगलबार, कार्तिक २२ गते ।

मकवानपुर । मकवानपुर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिरोध खतिवडामाथि हातपात भएको भन्दै सार्वजनिक समाचारको गठबन्धनमा आबद्ध दलहरुले खण्डन गरेको छ । गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गाउँपालिकास्तरिय नेताहरुले प्रेस बिज्ञप्ति जारी गर्दै केहि सञ्चारमाध्यमा सार्वजनिक भएको समाचारको निन्दा र खण्डन गरिएको उल्लेख छ । 

चुनावी सभामा खतिवडाको आगमनसँगै एक स्थानीय अत्याधिक मदिरा सेवन गरेका कारण लडेर घाइते भएको र तत्काल उद्धार गरि प्रहरीको जिम्मा लगाएको बिज्ञप्तिमा उल्लेख छ । समाचारमा आएको जस्तो कुनै घटना नभएको र समाचारमा जोडिएको पात्र पुरुषोत्तम खड्का माओवादी केन्द्रको कुनै पनि कमिटीमा आबद्ध नरहेको समेत बिज्ञप्तिमा जनाइएको छ । 

मनहरी गाउाँपालिकाको वडा नं. ३ र ४ को संयुक्त चुनावी सभामा सहभागी हुन आएका बेला खतिवडामाथि हातपात भएको भन्दै केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो । खतिवडा भने मंगलबार साँझ अबेरसम्म कार्यक्रममा सहभागी भएका थिए । साँझ कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले अत्ताल्लिएका एमालेले जाँड खुवाएर मान्छे पठाएको तर उनी आफैँ पछारिएको प्रतिक्रिया दिए ।