मंगलबार, कार्तिक २९ गते ।

मकवानपुर । प्रतिनिधिसभा २(ख) मकवानपुरको लोकतान्त्रिक बाम गठबन्धनले मंसिर १ गते क्षेत्रीय स्तरको आमसभा गर्ने भएको छ । मनहरी बजारमा हुने आमसभामा मकवानपुर २ (ख) प्रदेश क्षेत्रका गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता रहने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) का सभापति एवम् गठबन्धनका तर्फबाट निर्वाचन परिचालन समितिका संयोजक रन्जन कालाखेतीले निर्वाचन प्रचारप्रसारको अन्तिम दिन मंसिर १ गते मनहरीमा बृहत आमसभाको आयोजना गरिएको जानकारी दिँदै सभामा प्रदेश क्षेत्रका ३० वटै वडाबाट गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता रहने जानकारी दिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका प्रवक्ता डा: प्रकाशशरण महतलाई निम्त्याउने तयारी भइरहेको कालाखेतीले बताए । पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आगामी निर्वाचनमा गठबन्धनको जीत सुनिश्चित भएको बताए ।

निर्वाचन तयारीको क्रममा आम नागरिकको घरदैलोमा पुगिरहेको भन्दै उनीहरुले गठबन्धनकै पक्षमा मतदान गर्नेमा विश्वस्त भएको बानियाँले बताए । ‘बिगतको स्थानीय तहको नतिजालाई हेर्ने हो भने पनि मेरो क्षेत्रका ३० वटा वडामध्ये २३ वटा वडामा गठबन्धन दल विजयी भएको छ । सोही मतलाई आधार मान्दा पनि धेरै अन्तरमा हाम्रो जीत हुने सुनिश्चित भइसकेको छ ।’ बानियाँले भने ।

साथै पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ का सभापति लोक मुक्तान, कांग्रेस नेतृ जानकी लामा, नेकपा माओवादी केन्द्रको प्रदेश कमिटि सदस्यद्वय बीरबहादुर घलान (ज्वाला), सीता पुलामी मगर(रेखा) लगायतकाको उपस्थिति रहेको थियो ।