बुधबार, मंसिर ७ गते ।

मकवानपुर । नेपाली कांग्रेसको युवा पुस्तामा सर्वाधिक चर्चित तीन पात्रले एकै पटक संसद‍्मा प्रवेश पाएका छन् । पार्टीमा तीन फरक–फरक गुटको प्रतिनिधित्व गर्ने यी युवा हुन्– विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेल ।

उनीहरूमध्ये गगनले संसदीय चुनावमा जितको ह्याट्रिक गरेका हुन् । विश्वप्रकाश र प्रदीपको चाहिँ संसद‍्मा डेब्यू हो । विश्वप्रकाशले लगातार दुई हारको चोट बिर्सँदै पहिलो पटक संसद‍्भित्र आफ्नो सिट सुरक्षित गरेका छन् । पौडेलले चाहिँ २०७४ सालको प्रदेश निर्वाचनमा प्राप्त साँघुरो हारको चोटमा मलहम लगाए ।

पार्टीभित्र अहिले फरक–फरक हैसियतमा रहेता पनि यी तीन युवामा धेरै समानता छन् । उनीहरू तीन जनालाई लामो समयदेखि कांग्रेसभित्र सम्भावना बोकेका नेताका रूपमा हेरिँदै आएको छ । तीनै जना विद्यार्थी राजनीतिबाट उदाएका र स्थापित भएका हुन् । विश्वप्रकाश र प्रदीप कांग्रेसनिकट नेपाल विद्यार्थी संघको अध्यक्ष भएका थिए । गगन अध्यक्ष भएनन्, तर महामन्त्रीका रूपमा उनले अत्यधिक चर्चा पाए ।

उमेर र अनुभवमा गगनभन्दा विश्वप्रकाश पाका हुन् । तीन जनामा गगन सबैभन्दा कान्छा हुन् । तर, राजनीतिक खुड्किलो उक्लिनेमा चाहिँ गगनले अरू दुई जनालाई उछिने । उनी दुई पटक सांसद र एक पटक मन्त्रीसमेत भइसकेका छन् । जबकि विश्वप्रकाश र प्रदीपले अहिलेसम्म सांसदको पनि स्वाद चाख्न पाएका थिएनन् ।

तीनै नेताको अर्को समानता भनेको भाषणकला हो । उनीहरू तेजतर्रार भाषण गरेर समर्थकहरूलाई जुरुक्क उचाल्न खप्पिस छन् । यद्यपि, तीन जनाको आआफ्नो शैली छ । गगन आक्रामक भाषण गर्छन् र विरोधीहरुलाई उत्तेजित बनाउँछन् । विश्वप्रकाशको भाषण अलि लयात्मक र मिठासपूर्ण हुन्छ । प्रदीपको भाषण गगन र विश्वप्रकाशको स्तरको नभए पनि कांग्रेसका औसत नेताहरूको भन्दा माथि नै छ ।

अब अर्को समानता । यी तीनै जना नेता कांग्रेसको पछिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए, फरक फरक गुटबाट । संस्थापन पक्ष अर्थात् शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका पौडेल पराजित भए । शेखर कोइरालाको गुटबाट उठेका गगन र प्रकाशमान सिंहको गुटबाट उठेका विश्वप्रकाश विजयी बने ।

विगतदेखि देउवालाई साथ दिँदै आएका विश्वप्रकाश उनकै प्यानलबाट महामन्त्री लड्न चाहन्थे । तर, देउवाले आफ्नो गुटगत सन्तुलन मिलाउने क्रममा प्रदीपलाई च्यापेपछि विश्वप्रकाश उछिट्टिएर प्रकाशमानको प्यानलमा पुगे । सबैभन्दा कमजोर प्यानलबाट उठेर पनि महामन्त्रीमा विजयी हुँदै उनले पार्टीभित्र आफ्नो लोकप्रियता प्रमाणित गर्न सफल भए ।

संसदीय प्रतिस्पर्धामा भने विश्वप्रकाश कमजोर साबित हुँदै आएका थिए । उनले गएका दुई वटै निर्वाचनमा झापा–१ बाट हार व्यहोरो । २०७० सालको दोस्रो संविधानसभा चुनावमा उनलाई नेकपा एमालेका रविन कोइरालाले साँघुरो अन्तरले हराएका थिए । २०७४ सालको प्रतिनिधिसभा चुनावमा एमाले समर्थित माओवादी उम्मेदवार राम कार्की बाधक बने । यसपालि उनले दुवै हारको पिडा बिर्साउने गरी फराकिलो जित दर्ता गरेका छन् ।

गगन थापा भने यसअघिका दुवै निर्वाचनमा सहज जित निकालेका थिए । यसपालि पनि उनलाई कुनै कठिनाइ भएन । एमालेका राजन भट्टराईले थापालाई गम्भीर चुनौती दिन सकेनन् ।

यता प्रदीप भट्टराईले भने एमालेका हेभिवेट ईश्वर पोखरेललाई स्तब्ध बनाएका छन् । काठमाडौं–५ का उनी टुरिस्ट उम्मेदवार थिए । तर, मतदाताले पोखरेललाई तेस्रो पटक निर्वाचित गर्न चाहेनन् र पौडेलका रूपमा नयाँ अनुहार रोजे ।

विश्वप्रकाश, गगन र प्रदीपको एकै पटक उपस्थितिले अब संसद‍्भित्र नेपाली कांग्रेसको ‘रो’ गुलजार हुने भएको छ । यसअघि नेपाली कांग्रेस सत्तापक्षमा रहँदा होस वा प्रतिपक्षमा, संसदभित्र पार्टीको प्रतिरक्षा गर्ने एक्लो खम्बाको रूपमा गगन थापाले भूमिका निर्वाह गरिरहेका थिए ।

खासगरी, एमालेका अध्यक्ष, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको वाकयुद्ध बारम्बार चलिरहन्थ्यो । गगन नहुँदा हुन् त संसद‍्भित्र कांग्रेस छ भन्ने आभास नै हुँदैनथ्यो भन्ने टिप्पणी पनि धेरैले गर्थे । अब चाहिँ उनी एक्ला छैनन् । विश्वप्रकाश र प्रदीपको उपस्थितिले संसद‍्भित्र कांग्रेसको प्रस्तुति प्रभावशाली बन्ने आँकलन गर्न सकिन्छ ।

त्यसो त गगन थापाले आफूलाई भावी प्रधानमन्त्रीको दाबेदारकै रूपमा उभ्याइरहेका छन् । उनले चुनावअघि नै आफू पार्टीको संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए । निर्वाचनमा विजयी भए लगत्तै उनले तत्काल अब संसदीय दलको चुनावका लागि तयारी गर्ने बताए । अनि, उनलाई तत्काल समर्थन प्राप्त भयो विश्वप्रकाशको । उनले चुनावअघि र पछि पनि गगनलाई प्रधानमन्त्रीमा समर्थन गर्ने बताइसकेका छन् ।

विश्वप्रकाशको यो समर्थन उनले प्रतिस्पर्धी नेताप्रति देखाएको उदारता हो वा रणनीतिक चातुर्यता भन्ने स्पष्ट भइसकेको छैन । तर, के चाहिँ प्रष्ट हो भने यी दुई नेताबीच सतहमा जति हार्दिकता र आत्मीयता देखिन्छ, भित्री रूपमा त्यो छैन । उनीहरूबिच एक प्रकारको प्रतिस्पर्धाको भावना पहिल्यैदेखि रहेको दुवैका निकटस्थहरू बताउँछन् ।

पार्टी महाधिवेशनपछि सभापति देउवाले गगनलाई मात्रै बढी महत्त्व दिएकोमा पनि विश्वप्रकाशको भित्री असन्तुष्ट रहेको कांग्रेस स्रोतको भनाइ छ । उनले सबै तुष बिर्सेर गगनलाई प्रधानमन्त्रीमा समर्थन गर्ने बताएका छन् । विश्वप्रकाशको समर्थनले मात्रै गगनको प्रधानमन्त्री बन्ने बाटो खुल्दैन । तर, एक किसिमको माहोल भने बनेको छ । संसद्को भावी शक्ति सन्तुलन कस्तो हुन्छ भन्नेमा पनि धेरै भर पर्छ ।

जेहोस तीन जल्दाबल्दा नेताहरूको एकसाथ संसद् प्रवेशले कांग्रेसभित्र एक किसिमको उत्साहको सञ्चार गरेको छ । उनीहरू संसद‍्भित्र कत्तिको खरो रुपमा प्रस्तुत हुने हुन्, त्यो चाहिँ हेर्न बाँकी छ ।