आइतबार, मंसिर १८ गते ।

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर सभापति राजकुमार न्यौपानेलाई कारबाही नभए पार्टी छाड्ने घोषणा गरेका छन्। मकवानपुर १ को उम्मेदवार बनेका प्रदेश कोषाध्यक्ष टाकाराज थापा, मकवानपुर २ का उम्मेदवार भरत पराजुलीसहित चार दर्जन नेताकार्यकर्ताले न्यौपानेलाई कारबाही नगरे पार्टी छाड्ने घोषणा गरेका हुन् । 

सभापति न्यौपानेको कारवाही माग गर्दै आइतबार चार दर्जन नेताकार्यकताहरुको हस्ताक्षरसहितको निवेदन पार्टी केन्द्रिय कार्यालयमा पठाएको छ । न्यौपानेमाथि मंसिर ४ गतेको निर्वाचनको क्रममा समानुपातिक उम्मेदवार नुरमान प्रजालाई विभिन्न प्रलोभनमा देखाएर फरक पार्टीको उम्मेदवारको घरमा लगेर मिटिङ गराएको आरोप छ ।  

मिटिङ गराएको कुरा पार्टीको समिक्षा बैठकमा स्वयम् नुरमान प्रजाकै मुखबाट स्पष्ट राखेको, सो कार्यबाट पार्टी र उम्मेदवारलाई ठूलो क्षति भएको बताईएको छ ।  यस्तो कार्य गर्ने सभापतिबाट भोलिका दिनमा संगठन र पार्टीको प्रतिष्ठा कसरी बच्छ ? र बचाउन सक्छ ? भन्दै प्रश्न समेत गरेका छन् । 

‘पार्टीमा व्यापक समिक्षा भएको हुँदा रा. स्व.पा. पार्टी प्रेमी एवम् परिवर्तनको पक्षमा लाग्ने सम्पूर्ण सदस्य ज्यूहरुलाई व्यापक निराशा पैदा गरेको हुनाले निज सभापति राजकुमार न्यौपानेलाई कारवाही हुनुपर्छ,’ पत्रमा लेखिएको छ । न्यौपानेमाथि कारवाही नभए आफुहरु पार्टीमा नरहने निष्कर्ष पुगेको पत्रमार्फत जानकारी दिएका छन् ।