फाईल तस्वीर ।

मंगलबार, मंसिर २० गते ।

मकवानपुर । प्रविधिको विकास र आधुनिक जीवनशैलीका कारण पछिल्लो समय हातले गाँस्ने दुनाटपरी हराउँदै जान लागेको छ । मेसिनबाट बनेका विभिन्न खाले दुनाटपरीको प्रयोग तथा प्लास्टिकका थाल र सामग्री प्रयोग गर्न सजिलो हुन थालेपछि हाते दुनाटपरी लोेपोन्मुख अवस्थामा पुगेको हो ।

नयाँ पुस्तामा दुनाटपरी गाँस्ने सीपको कमीका कारणले यसको प्रयोग हराउँदै जान लागेको हो । धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरी भन्दा प्लास्टिकका भाँडाको बढी प्रयोग बढ्न थालेपछि पाका पुस्ता चिन्तित हुन थालेका छन् ।

पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धको कार्य लगायतमा सालको पातको दुनाटपरीको प्रयोग गर्ने प्रचलन रही आएको छ । पछिल्लो समयमा प्लास्टिकका भाँडाको प्रयोग बढेसँगै जिल्ला सहर, बजारमा मात्र नभई गाउँ घरबाटै हराउँदै जाँदा चिन्ता लागेको मनहरी ७ मकवानपुर का ७५ वर्षीय मिलन पौडेल बताउ छन् । उनले भने, “गाउँघरमा केही सानो पूजा हुँदा समेत सालको पात चोखो हुन्छ भन्दै दुनाटपरी बनाएर प्रयोग हुन्थ्यो । आफ्नै घरपरिवार तथा समाजले दुनाटपरी गासिन्थ्यो । अहिले प्लास्टिकको भाँडाले गाउँघर ओगट्दा परम्परागत दुनाटपरी हराउने अवस्थामा पुगेको छ ।”

उमेरले ८० वर्ष पुग्नुुभएकी मकवानपुर ११ की मायाँ सापकोटा विवाह, पूजाआजामा समेत गाउँलेले वनमा गएर सालको पात टिपेर ल्याएर दुनाटपरी गासेर प्रयोग हुने गरे पनि अहिले युवापुस्ताले चासो नदिँदा विस्तारै दुनाटपरी हराउँदै गएको बताउछन् । चाडपर्वमा घरमा आउने पाहुना तथा आफन्तजनलाई सालको पातको दुनाटपरीमा खानाका परिकार राखेर दिने गरे पनि अहिले आफ्नो पुस्ताले नसक्ने र युवापुस्ताले बेवास्ता गर्दा यस्ता सामग्री हराउन थालेको उनको गुनासो छ ।

मकवानपुर ९ की ९१ वर्षीया रुपा पौडेललाई पनि दुनाटपरी हराउँदै जान लागेपछि चिन्ता लागेको छ । “पहिला पहिला सालको पात टिपेर ल्याई बाँसको सिन्काले सालको पातको दुनाटपरी गाँसिन्थ्यो, त्यतिबेला अहिलेको जसरी प्लास्टिकका भाँडा पनि हुँदैन थियो, पूजाआजामा प्रसाद यसैमा राखी खाइन्थ्यो, बाँडिन्थ्यो, आजकल मेसिनबाट बनेका दुनाटपरी र प्लास्टिकका भाँडाको प्रयोग बढ्न लाग्यो हामी पछिकाले त दुनाटपरीनै नदेख्ने हुन की भन्ने पिर लाग्छ”, उनले भने ।

केही समय पहिले सहर बजारमा समेत दुनाटपरीको प्रयोग बढ्दो थियो । विगतमा दुनाटपरी बनाएर पु¥याउने गरिएको भए पनि आजकल गाउँघरमा समेत हातले बुनेका दुनाटपरी हराउँदै गएको विगत १२ वर्षदेखि कर्मकाण्ड गराउदै आएका पण्डित रामप्रसाद आर्चाय बताउछन् । दसैँ, तिहार लगायतका चाडपर्व, विवाहा व्रतबन्ध विभिन्न पूजामा समेत मेसिनले बुनेका दुनाटपरी र प्लास्टिकका भाडाको प्रयोग बढेको पण्डित आर्चाय बताउछन् । उनले भने , “ नयाँ पुस्तालाई पात गाँस्न सिकाउनु पर्छ । ”