बुधबार, मङ्सिर २८ गते ।

मकवानपुर । वागमती प्रदेशमा ३७ सीटसहित पहिलो दल बनेको नेपाली कांग्रेसभित्र मुख्यमन्त्रीको विषय पेचिलो बनेको छ । चुनावअघिसम्म संसदीय दलमा करिब-करिब सर्वसम्मत देखिएका कांग्रेसका वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँमाथि पछिल्लो समय चुनौती थपिएको छ ।

कांग्रेसमा शेरबहादुर देउवा प्यानलको नेताको रूपमा चिनिएका बानियाँले संसदीय दलको नेताको प्रतिस्पर्धामा देउवा प्यानलकै बहादुर लामासँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएपछि गगन-शेखरको क्याम्पका लागि नजिकिन थालेका छन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नुवाकोटका लामाले मुख्यमन्त्री हुने सर्तमा प्रदेशसभामा झरेर आफ्नो गृहक्षेत्रमा अर्जुननरसिंह केसीलाई जिताइदिएपछि उनलाई प्रकाशमान सिंह र केसी समूहको समेत साथ मिल्ने भएको छ । बालुवाटारको रोजाइमा नपारेपछि बानियाँले शेखर-गगन समूहको साथ खोजेको कांग्रेस स्रोतको भनाइ छ ।

पहिले जे भयो भयो अब यो पटक मिलेर अघि बढनुपर्छ भन्ने बानियाँको प्रस्तावले शेखर-गगन समूह ‘पोजेटिभ’ बनेको बताइएको छ । तर, विषय टुंगिसकेको छैन । वागमती प्रदेशसभा निर्वाचित सांसदमा देउवा प्यानलको बहुमत रहेको छ । एउटै प्यानलबाट दुईजना उम्मेदवार बन्दा पार्टी सभापतिको आधिकारिक धारणा कुर्ने र सभापति लामाप्रति लचक देखिएपछि बानियाँ क्याम्प चेञ्जको ध्याउन्नमा रहेको उनीनीकट एक नेता बताउँछन् ।

बालुवाटरको रोजाइमा किन परेनन् बानियाँ ?

मकवानपुर कांग्रेसमा इन्द्रबहादुर बानियाँ र कांग्रेस सह-महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ बीच अस्तित्वको लडाइँ चल्दै आएको छ । दुई पटक समानुपातिक सांसद भइसकेकी डिनाले यो पटक प्रत्यक्षमा निर्वाचन लडेर देखाउने केन्द्रीय कमिटीको बैठकमा बताएपछि सभापति देउवाले टिकट दिने तर हारेमा मुख देखाउन नआउनु भन्दै व्यंग्य गरेका थिए । जवाफमा डिनाले मकवानपुर-१ मा गठबन्धनको मत विपक्षीभन्दा १५ हजार बढी भएको र कांग्रेसको पनि भोट बढेको भन्दै सतप्रतिशत जित निकाल्ने बताएकी थिइन् ।

डिनाले टिकट पनि पाइन् । आफुले टिकट पाउँदै गर्दा निकटका आनन्दराम पराजुलीलाई मकवानपुर १ को प्रदेशसभा २ मा पनि टिकट दिलाउन सफल भइन् । २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा मेयरको प्रत्यासी बनेका पराजुली एमालेसँग झिनो मतान्तरले पराजित भएका थिए । पराजुलीसँग ‘न्यूट्रल’ जनमत समेत रहेको भन्दै उनले पराजुली उम्मेदवार बन्दा आफू थप बलियो हुने डिनाको विश्वास थियो । पराजुलीले टिकटका कारण बानियाँले लबिङ गरिरहेका कांग्रेस मकवानपुरका सभापति तथा बुद्ध लामाको टिकट हुस्सियो । यही कारण इन्द्र-डिनाको सम्बन्धमा दरार थपिएको जानकारहरू बताउँछन् ।

चुनावको प्रचारको क्रममा यी दुई नेता एकसाथ पनि देखिएनन् । नतिजामा डिना र पराजुली दुवैले हार व्यहोरे । गठबन्धनबाट चुनाव लडेका कांग्रेसका ३ उम्मेदवारमध्ये बानियाँले मात्र जिते । हारको कारण अन्तर्घात भएको र त्यसमा इन्द्र बानियाँ समूहको हात रहेको भन्दै डिनाले बालुवाटारमा रिर्पोट गरेसँगै उनीसँग बालुवाटार पोजेटिभ नभएको बताइएको छ । पछिल्लो समय देउवा र पत्नी आरजुसँग डिनाको सम्बन्ध राम्रो भएकाले पनि उनकै कुरा सुनेर लामालााई च्यापेको बताइन्छ ।

वैशाखमा भएको स्थानीय तह चुनावमा पार्टी सभापतिको भनाइ अटेर गर्दै प्रदेश अधिवेशनको ‘इगो’ लिँदै आफ्ना पक्षलाई मात्र टिकट दिएपछि देउवा उनीसँग चिढिएको पनि मकवानपुर कांग्रेसमा चर्चा छ ।
यसैबीच नुवाकोटबाट प्रदेशसभा सदस्यमा विजयी लामाले आफुलाई पार्टीको माथिल्लो समितिले मुख्यमन्त्री बन्ने सर्तमै उम्मेदवार बनाएको दाबी गरेका छन् ।

बहादुरले नेपाल प्रेससँग भने ‘मलाई मुख्यमन्त्री बनाउने भनेरै प्रदेशसभामा उम्मेदवार बनाइएको हो ।’
नुवाकोटबाट २०७० को दोस्रो संविधानसभा निर्वाचनमा माओवादीका ‘हाई प्रोफाइल’ उम्मेदवार पोष्टबहादुर बोगटीलाई पराजित गरेर चर्चा कमाएका लामालाई सभापति देउवाले २०७४ सालको आम निर्वाचनमा समानुपातिकबाट सांसद बनाएका थिए ।

म नै सर्वसम्मत उम्मेद्वार : बानियाँ

इन्द्र बानियाँले भने वागमतीको संसदीय दलका लागि आफू नै सर्वसम्मत उम्मेदवार हुने दाबी गरेका छन् । पार्टी सभापति रहेको र प्रदेशसभाको संसदीय दलको नेता रहेर पाँच वर्ष अनुभव लिइसकेकाले अबको मुख्यमन्त्रीका स्वाभाविक हकदार हुने उनको भनाइ छ ।
स्रोत: नेपाल प्रेस अनलाइन