शनिबार पुष ०२ गते ।

मकवानपुर । मङ्सिरको चिसो मौसम थियो । हेटौंडाबाट काठमाडौं जाने सुमो गाडीका टिकट काउन्टर हेटौंडामा ठूलो ठूलो स्वरमा काठमाडौं, काठमाडौं भन्दै बोल्दै बोलाउँदै थिए । ३/४ नम्बर सिटको टिकट काटेर सुमोको झ्यालतिर बसेर चिसो मौसमसँग प्रेमिल संसारको अंकुरणमा कठ्याङग्रीदै थिएँ ।

उमेरले २२/२३ को करिब ५ फिट ५ इन्च अग्लो, हल्का कालो वर्णको, लामो केश भएको युवक नजिकैको सिट नम्बर ४ मा बसे । उनको केही अस्वाभाविक हुँदो हो या विचलित उसलाई अध्ययन गर्न मलाई समय नै लागेन । चिसो मौसमले रोकिने सुरसारै थिएन, निरन्तर चिसो समिका छिटाहरु बहदै थिए । चालकले गाडी चलायो, गीत घन्क्यो- ‘मलाई यो जिन्दगीले चोट दियो गनी गनी… कहिले चोट दियो आफ्नो भनि कहिले पराई भनि…।’

यत्तिकैमा ती युवकले मलाई झ्यालतिर बस्न दिन अनुरोध गरे । मैले हुन्छ भन्दै स्विकृत जनाइदिएँ । एकोहोरो ऊ मोबाइलमा केही चिहाइरहेको थियो । ऊ धेरै विचलित देखिन्थ्यो । बाहिर चिसो समिका बेगसँग उसका आँखामा देखिएका आँसुलाई दाँजेर सोधिहालेँ- ‘घर कता हो नि ?’ ‘हेटौंडा, दाइ हजुरको ?’ केही समय हाम्रो परिचय भयो । उसको नाम मिलन रहेछ । मिलनले दाई भनेपछि मलाई सामीप्यता बोध भयो । मैले काठमाडौंसम्मको यात्रा तय गर्नु थियो । सामान्य परिचयपछि हामी मौन भयौं । गीत र गाडी आफ्नै तालमा दगुर्दै थियो ।

‘म हारेको बेला, म लडेको बेला सहारा खोज्दै हिँडेको बेला…’ सायद यो गीतले मिलनलाई भाबुक बनायो क्यारे । उसले सिसाबाट बाहिर टाउको निकालेर गुलाबी रङको रुमालले आँसु पुछ्यो । मैले सोधेँ, ‘केही गाह्रो त छैन भाई ?’ ‘हैन दाई, म ठिक छु ।’ म अब विश्वस्त थिएँ ऊ भित्र केही कुराको पीडा छ । उसले खुलाएर भनोस् पनि कसरी ? भर्खरै भेटेको मान्छे न थिएँ । ऊ फेरि मोबाइलमा व्यस्त हुन थाल्यो । कुन्नी मोबाइलमा केही हेर्थ्यो र रुमालले आँसु पुछ्थ्यो । मैले भेउ पाइन सकिएन । उसको आशय नै आँसुको माध्यमले पीडाहरू बगाउनु थियो कि ? सुमो हुकिदै खाजा खाने ठाँउ मकवानपुरको देउराली पुगेपछि उसको मोबाइलको वालपेपरमा एक युवती देखे । ती युवतीलाई नै हेर्दै रोएको हुनुपर्छ भन्ने झै लाग्यो ।

‘भाई, भन न यार के भएको छ ? किन यसरी फोटो हेरेर रुँदै छौ ?’ उसले सुरुमै दाई शब्द प्रयोग गरेकाले मलाई कर गर्न अलि सहज भयो । मोबाइलको वालपेपरमा इङ्कित गर्दै उसले भन्यो, ‘संगिता श्रेष्ठ !’ ‘मतलब तिम्रो प्रेमिका ?’ ‘प्रेमिका होईन दाई, हुन नसकेकी जीवन साथी । हामी प्लस-टु सँगै शिक्षा संकायमा पढ्थ्यौं । गरिबीले व्याप्त भएको परिवारको एक्लो आशा, आमा र बाको एक्लो साहरा हुँ दाई । प्लस-टु उत्तीर्णपछी आफ्नै पहाड घरमा जानु आफैमा आनन्दित थियो । क्याम्पसका दिनहरू रमाइला हुँदै थिए । मकवानपुर कलेजमा मंसिरका दिनहरू तुसाराले कलेजलाई छोप्ने, त्यहीमाथि चिसो । त्यही समय भेटिएकी थिइन् संगिता ।

प्रेमको आशा पनि बढो अजीवको हुँदो रहेछ । मलाई थाहा थियो हाम्रो जात मिल्दैन, संस्कार मिल्दैन । त्यही पनि उनलाई चाहिरहेको थिएँ । मानौं मेरो लागि उही सारा संसार हो जस्तै । ठिक फागुन ४ गते त्यो वर्षको प्रेम दिवस थियो । म्यासेज रिक्वेस्ट पठाएँ- ‘संगिता यो संसारको बहुमूल्य उपहार हौ तिमी मेरो लागि । तिमीलाई थाहा छ या छैन तिमीलाई एकोहोरो धेरै चोटि हेरेको छु । तिमीलाई कल्पना गरेर तिमी सित कुरा गरेको छु । आज मौका पाएँ र भन्दैछु- संगिता, आई लभ यू ।’ लभ र कपलवाला सहितको इमोजी पठाएँ । म्यासेजको पर्खाइ धेरै लामो गरेँ, रिप्लाई साँझतिर आयो । ‘लब यू टू’ सँगै लेखेर पठाइन्, ‘अस्ती नै प्रपोज गरुँला सोचेको थिएँ । के पहिला जान्ने भएर गर्नु भनेर नगरेकी ।’

मैले भने डरले बल्ल त्यो दिन मात्र भन्न आँट जुटाएको थिएँ नत्र त जिन्दगी नै कुर्नु पर्ने रहेछ बरै । मकवानपुरका सहिद स्मारक, पुष्पलाल पार्क, गढीदबार हाम्रो बहाना बनेर जाने घुम्ने उत्तम स्थान भइसकेका थिए । नेवारको एक्ली छोरी, बाबु आमा आफ्नै व्यावसाय, दाइ कोरिया । उसलाई घरमा रोकटोक केही थिएन । मसँग पैसा धेरै नहुने, उसलाई पैसा कहाँ खर्च गरौँ हुने । कहिलेकाहीँ घरबाट पैसा नआए उनैले कोठा भाडा तिरिदिन्थिन् ।
प्लस-टुको परीक्षापछि मैले मार्केटिङमा काम गर्न लागेँ, उनी पनि पढाइलाई केही समयको लागि रोकेर अष्ट्रेलियाको लागि आइइएलटिएस गर्न भनि काठमाडौं लागिन् । भौतिक रुपमा हामी सँगै नभए पनि म उनलाई महसुस गर्न सक्थेँ । त्यसैले त मलाई आउने मायाका प्रस्तावहरू सिधैं नकारिदिन्थेँ । सायद सम्बन्धहरू आत्मा र शरीरको मिलन यही कारणले भन्छन् होला ।
समय अनुकूल चल्दै थियो । हाम्रो प्रेमको बिजारोपण भएको पनि ठिक २ वर्ष भइसके छ । कति छिटो चल्ने समय ! कति छिटो चल्ने घडी ! यो समय रोक्ने कुनै यन्त्र छैन ?’

म सोच्दै थिएँ, यति प्रेमिला सुन्दर कहानी होला र मिलनको कथा ! साँच्चीकै के भाको होला ? यही मन कौतुहलता साथ खाजा खाने मन नै भएन । दुवै अलिकति खाजा खाए जस्तो गरेर भए पनि सुमोमा चढ्यौं । अब सुमो काठमाडौंसम्म मज्जाले चल्नेवाला थियो । उसको यात्रा काठमाडौंसम्म थियो, म र ऊ काठमाडौंसम्मकै साथी भयौं । ‘मिलन वास्तवमा के भयो यार ? किन बिछोडिनु पर्‍यो ?,’ निधार खुम्चाउँदै प्रतिपश्न गरेँ, ‘यार, औकात नै ठूलो, प्रिय लाग्छ धनीमानीहरुलाई । हामी भन्दा राम्रो मिले त गैहाल्छन् नि ।’ ऊ गम्भीर भएर मलाई सुन्दै थियो । केही जवाफ फर्काएन । फेरि हाम्रो स्थिति चकमन्न भयो, गीत बजिरह्यो- ‘धनगढीको बसमा, आउँदा मलाई ल्याइदिनु टक्क कालो चस्मा ।’

मलाई हतार भइरहेको जान्न कि के कारण होला त मिलनको यस्तो हालत हुनु पछाडि ? अब ऊ बोल्दै गयो ।
‘वैशाखको महिना कारणवश म काठमाडौं जानु पर्ने भयो । संगिता पनि आइएलटिएसको परीक्षा पास भएर अष्ट्रेलिया जाने तयारीमा थिइन् । सम्भवतः उनको फ्लाइट पुष/माघतिर हुनेवाला थियो । हाम्रो योजना अनुरुप नै हामी चल्दै थियौँ । डिपेन्डेड भिसामा म पनि जाने भन्ने तयारी थियो । असारको २२ गते एक अन्जान नम्बरबाट फोन आयो- ‘मिलन, संगिता इज नो मोर !’
मलाई थाहा नै थिएन यस्तो अप्रिय घटना घट्छ भनेर । आकाश झरे जस्तो, धर्ती भासिए जस्तै भयो । म बेहोस भएछु । होस खुल्दा आफ्नै कोठामा भेटिएँ । कसले अफिसबाट ल्याइदिनु भएछ अत्तोपत्तो भएन ।

जब म रक्सीको नशामा हुन्थेँ, संगितालाई एक परीसँग दाँज्थेँ र आफूलाई भुलाउँथे । जब नशा सकिन्थ्यो, तब उसको यादले मलाई पीडा दिन्थ्यो । दाई, उसले छोडेर गएको १ वर्ष भन्दा बढी भइसके छ । खै ! उसले पनि मलाई बोलाएको जस्तै महसुस हुन्छ । यत्तिकैमा काठमाडौंको ओर्लिने ठाँउ पुगे । मेरो त आँखा नै रसाए छ । आँसुलाई हातले पुछ्दै ‘ल है मिलन भाई, राम्रोसँग जाऊ । भनेर हात मिलाएर त्यहाँबाट हामी छुटिए । काठमाडौंको बल्खुमा उत्रिएपछि म सधैं बस्ने बालाजुको लजतर्फ लागे । साझाको ६ बजिसकेको थियो । मेरो लागि कोठा पहिला नै बुकिङ थियो । ३०४ नम्बर चाबी लिएर कोठा खोले ब्याग राखेर त्यही संगिता र मिलन मनमा दौडिरहे । झोलामा रहेको सानो डायरी झिकेर लेखेँ- ‘पूर्ण युवाको अपूर्ण कहानी…।’
✍️ अशोक निर्दोष लामा ।