बुधबार, पुष १३ गते ।

मकवानपुर । नेपाली काँग्रेस वागमती प्रदेशको संसदीय दलको नेता आज चयन हुँदै छ । संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ र बहादुर सिंह लामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

३७ सांसद रहेको कांग्रेसको दलको नेता छान्न आज बुधबार हेटौंडामा निर्वाचन हुँदै छ । जसका लागि मकवानपुरका इन्द्रबहादुर बानियाँ र नुवाकोटका बहादुर सिंह लामा आन्तरिक तयारीमा व्यस्त छन्  । दुवै नेता कांग्रेस संस्थापन समूहका हुन् । बानियाँ कांग्रेस वागमती प्रदेश सभापति हुन् भने लामा केन्द्रीय सदस्य हो ।

प्रदेशसभाको ठूलो दल कांग्रेसले आन्तरिक निर्वाचन नै गरेर दलको नेता छनोट गर्न लागेको छ । दुवै जनाले प्रदेशको नेतृत्व गर्न आफ्नो आवश्यकता रहेको दाबी गरिरहेका छन् । आफ्नो पक्षमा माहोल बनाउन उनीहरू छुट्टाछुट्टै भेला आयोजना गरिरहेका छन् ।

केन्द्रमा बनेको नयाँ समीकरण अनुसार प्रदेश सरकार निर्माण भए कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने निश्चित छ । सदनको दोस्रो ठूलो दल एमालेले पुस १४ मा दलको नेता छान्ने भएको छ । प्रदेशसभा सदस्यको शपथ ग्रहण अघि नै दलको कार्यालयमा नेता छनोट गरिने बताइएको छ ।