शुक्रबार, पुस २९ गते ।

मकवानपुर । हिजो राति एउटा स्कुटरलाई अन्य दुई सवारी साधनले ठक्कर दिँदा भएको दुर्घटनामा मकवानपुरमा ३ युवाको ज्यान गएको छ ।  मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरे स्थित भलादमीचोकमा स्कुटर दुर्घटना भएको हो । दुर्घटनामा परी स्कुटर चालक सहित ३ जनाको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । 

दुर्घटनाग्रस्त स्कुटरलाई अन्य दुई सवारी साधनले ठक्कर दिएपछि ठूलो मानवीय क्षति भएको हो । राति १०:५० मा ना. ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटना हुँदा मनहरी गाउँपालिका ८ सिमपानी बस्ने अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, सोही स्थान बस्ने अन्दाजी ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ्ग गाउँपालिका ३ लावती बस्ने ३२ वर्षीय रुपेश तामाङको ज्यान गएको हो ।

उनीहरु तीनै जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारीको अहिलेसम्म पहिचान हुन सकेको छैन । मृतकहरु पश्चिम मकवानपुरमा स्थानीय खेलकुद र सामाजिक क्षेत्रका क्रियाशील भएकाले युवामाझ लोकप्रिय थिए ।