बुधबार, माघ ११ गते ।

मकवानपुर । विकट राक्सिराङ्ग गाउँपालिका ५ चैनपुरमा आगामी माघ १ गते उद्घाटन गर्ने भनिएको हाट बजार मिति सरेको छ । स्थानीय स्तरमा उत्पादित कृषि उपज र कृषिजन्य वस्तुलाई बजारीकरण गरी स्थानीयको आय आर्जनमा वृद्धि गरी व्यावसायिक, आत्मनिर्भर बनाउनुका साथै स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रबर्द्धन गर्ने उद्धेश्यका साथ हाट बजार संचालन गर्न लागिएको हो ।

उक्त हाटबजार मेला ब्यबस्थापनका संयोजक सन्तोष थापाले राक्सिराङ्ग एकीकृत कृषि हाट बजारका लागि रैथाने कृषि बाली संकलन र मेला व्यवस्थापनमा समय अपुग भएको भन्दै फाल्गुन १ गते उद्घाटनको लागि तयारी गरे पनि समय अपुग भन्दै सारिएको बताए । बहु-सरोकार साझेदारी मन्च (नाफान) को समन्वय र राक्सिराङ्ग गाउँपालिकाको संयोजकत्वमा हरेक महिनाको १ र १५ गते हाट बजार संचालन गरिने समेत जनाएको छ ।

हाट बजार संचालनबाट कृषकहरुको उत्पादनको बजारीकरण र प्रबर्द्धनका साथै उपभोक्ताले सुपथ मुल्यमा स्थानीय स्वस्थ र ताजा कृषि तथा कृषिजन्य उत्पादन उपभोग गर्ने वातावरण सिर्जना गर्नको लागि यो बजारको अवधारणा ल्याएको गाउँपालिकाले जनाएको छ । त्यस्तै गाउँपालिकाले स्थानीय सहकारी संस्था, कृषक समूह, कृषक, राजनैतिक दल, वुद्धिजिवी, एनजिओ/आईएनजिओ, समाजसेवी लगायत सबै वडाबासीहरुमा बजारलाई सहयोग र समन्वय गर्न अपिल समेत गरेको छ ।