सहिदको बलिदान स्मरण गर्दै तरुण दल अध्यक्ष गुरुङद्वारा सहिद दिवसको शुभकामना व्यक्त ।

सोमबार, १६ माघ गते ।
मकवानपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सहिदको त्याग, तपस्या र बलिदानबाट राजनीतिक व्यवस्था परिवर्तन भएको बताएका छन् । सहिद दिवसको अवसरमा सन्देश जारी गर्दै अध्यक्ष गुरुङले परिवर्तन ल्याउनका लागि भावी पुस्ता र देशको आयाम बदल्नका लागि आफ्नो ज्यान अर्पण गर्ने ज्ञात अज्ञात सम्पूर्ण शहिदहरुको सम्झना गरेका छन् । उनले शहिदहरुप्रति सम्मान र नमन समेत गरेका छन् ।
गुरुङले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते भई स्वास्थ्योपचार गराइरहेकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिद मुलुकका सच्चा सपूत भएको गुरुङद्वारा जारी संदेशमा उल्लेख छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।