आइतबार, माघ २९ गते ।

मकवानपुर । राक्सिराङ्ग गाउँपालिका ५ स्थित चैनपुरमा फाल्गुनको १ गते हाटबजार मेला आयोजना गर्ने भएको छ । यस अघि माघ १ गते गर्ने भनिएकोमा तयारी पूरा नभएको भन्दै समय सारिएको थियो ।

स्थानीय स्तरमा उत्पादित कृषि उपज र कृषिजन्य वस्तुलाइ बजारीकरण गरी स्थानीयको आय आर्जनमा वृद्धि गरी व्यावसायिक, आत्मनिर्भर बनाउनुका साथै स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रबर्द्धन गर्ने उद्धेश्यका साथ हाट बजार मेला संचालन गर्न लागिएको हो । बहु-सरोकार साझेदारी मन्च (नाफान) को समन्वय र राक्सिराङ्ग गाउँपालिकाको संयोजकत्वमा हुने कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका भित्रका सबै वडा अध्यक्षहरुलाई निमन्त्रणा गरिएको छ । साथै हाटबजार हरेक महिनाको १ र १५ गते संचालन गरिने समेत जनाएको छ ।

गाउँपालिकाले यस अभियानमा सहयोग र समन्वय गर्न स्थानीय सहकारी संस्था, कृषक समूह, कृषक, राजनैतिक दल, वुद्धिजिवी, एनजिओ/आईएनजिओ, समाजसेवीहरुका साथै सबै वडाबासीहरुमा अपिल गरेको छ । बजार संचालनबाट कृषकहरुको उत्पादनको बजारीकरण र प्रबर्द्धनका साथै उपभोक्ताले सुपथ मुल्यमा स्थानीय स्वस्थ र ताजा कृषि तथा कृषिजन्य उत्पादन उपभोग गर्ने वातावरण सिर्जना गर्नको लागि यो बजारको अवधारणा ल्याएको पनि गाउँपालिकाले जनाएको छ ।

साथै कार्यक्रमको आकर्षणको रुपमा रैथाने कृषि उपज बस्तुहरुको प्रदर्शनी तथा बिक्रीवितरण, स्थानिय खानाको परिकारहरु, स्थानिय चर्चित कलाकारहरुको प्रस्तुति, जातिय पहिचानसहितको सांस्कृतिक झांकी तथा नृत्य प्रदर्शन रहेको छ ।