बिहीबार, फाल्गुन १८ गते ।

मकवानपुर । हेटौंडा/काठमाण्डौं ओहोर दोहोर गर्ने कान्ति लोकपथ आज देखि चैत १० गतेसम्म बन्द हुने भएको छ । हेटौँडा हुँदै ललितपुर जोड्ने कान्ति लोकपथ मर्मत सम्भारको लागि बन्द हुने भएको हो ।

कान्ति लोकपथ मर्मतका लागि फागुन १८ गतेदेखि आगामी चैत १० गतेसम्मको समय निर्धारण गरेको छ । मकवानपुरको ठिङ्गन नजिक रहेको बागमती पुलबाट ललितपुरतर्फ सडक मर्मत एवं कालोपत्रेका लागि कान्ति लोकपथ बन्द गरिएको जनाइएको छ ।

सडक बन्द भएपछी यात्रुहरु भने समस्यामा परेका छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा गत सोमबार बसेको बैठकले आज देखि कान्ति लोकपथको दुईतर्फी बन्द गर्ने निर्णय गरेको हो । आज देखि लागू हुनेगरी कान्ति लोकपथमा दुईतर्फी सवारी साधनको आवागमन पूर्णरूपले बन्द गरी हेटौँडा/काठमाडौँ चल्ने सुमो लगायतका साना सवारी साधनका व्यवसायीलाई सिस्नेरी र चित्लाङ सडकमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाउने गरी निर्णय गरिएको छ ।

साथै हेटौँडाबाट काठमाडौँ जान हेटौंडा/भीमफेदी/कुलेखानी/सिस्नेरी/दक्षिणकाली रूट हुँदै एकतर्फी र काठमाडौँबाट हेटौँडा आउन थानकोट/चित्लाङ/मार्खु/कुलेखानी/भीमफेदी रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।