शुक्रबार, चैत्र १० गते ।

मकवानपुर । हेटौंडाको मकवानपुर सहकारी अस्पतालमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । संचारमाध्यममा अस्पताल मापदण्ड विपरित संचालन रहेको भन्ने समाचार प्रकाशित भएपछी एकीकृत बजार अनुगमन समितिले अस्पतालको अनुगमन गरेको हो । मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको नेतृत्वको अनुगमन टोलीले अस्पताल मापदण्ड विपरित रहेको भेटेको छ ।

अस्पतालले २५ शैयाको अनुमती लिएर क्षमता भन्दा बढी ५८ वटा बेड संचालन गरिरहेको अनुगमन टोलीले भेटेको हो । त्यस्तै भवन मापदण्ड विपरित रहेको, बिरामी मैत्री रअपाङ्ग मैत्री नरहेको, अस्पतालले सरसफाइमा ध्यान नदिएको लगायत थुप्रै कमजोरी भेटिएको अनुगमन टोलीले बताएको छ ।

अस्पतालले क्षमता भन्दा बढी संचालन गरेको २६ वटा बेड संचालन गर्न नपाउने भन्दै ताला लगाएको छ । अनुगमन टोलीले अस्पतालको क्याबिन, वार्ड लगायतका कोठामा ताला लगाईदिएको छ । नियमानुसार अस्पतालको क्षमाता वृद्धि गरेपश्चात मात्र संचालन गर्न पाउने गरी हाल २५ वटा मात्र संचालन गर्न अस्पताल प्रशासनलाई अनुगमन टोलीले निर्देशनसमेत दिएको छ ।
साथै अस्पतालको भवन, पार्किङ, प्रयोगशाला, कोठा, पतिक्षालय,लगायत थुप्रै मापदण्ड नपुगेका विषयमा भने प्रशासनले सुधार गर्न निर्देशन मात्र दिएर छोडेको छ ।

तत्काल ति विषयमा सुधार नभए अर्को पटक अस्पताल बन्द गर्ने चेतावनी आजको अनुगमन टोलीले दिएको छ ।
त्यस्तै हेटौंडाको सिटी अस्पतालमा पनि प्रशासनले अनुगमन गरेको छ । सो अस्पतालले पनि २०७४ सालदेखि नवीकरण नगराई सेवा संचालन गरिरहेको भेटिएको छ । सिटी अस्पताललाई एक हप्ता भित्र सम्पूर्ण मापदण्ड पुर्याई संचालन अनुमति लिन निर्देशन दिइएको छ । सो अस्पतालको आकस्मिक कक्षमा राखिएको मापदण्ड विपरितमा बेड अनुगमन टोलीले हटाएको छ ।

अनुगमन टोलीमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मन्च, हेटौंडा अस्पताल, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
मकवानपुरका निजि अस्पतालहरु मापदण्ड विपरित संचालन भैरहेकाले कारवाही गर्नका लागी उपभोक्ता हित संरक्षण मंच मकवानपुरले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षणसमेत गराएको थियो ।
साभार : हेटौंडा खबर ।