गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्छ : तरुण दल अध्यक्ष गुरुङ ।

बिहीबार, भदौ २१ गते ।
मकवानपुर । नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरुण दलले सानेपामा भेला गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो भएको भेलामा अध्यक्ष विद्वान गुरूङले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनु पर्ने बताए ।
तरुण दलका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने श्याम सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुरक्षा दिन नसकेको भन्दै तरुण दलले गृहमन्त्रीको राजीनामा मागेको हो ।
‘आज सानेपामा तरूण भेला गरिएको छ । साथै शुक्रबार दिउँसो १ बजे शान्ति बाटिका रत्नपार्कमा उपस्थित भएर विरोध सभा र र्याली गर्ने निर्णय भएको छ,’ तरुण दलका केन्द्रीय सदस्य दिपेन्द्र पोख्रेलले भने, ‘अध्यक्ष गुरूङले भेलालाई सम्बोधन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनु पर्ने बताउनुबभएको छ ।’