गायन रियालिटी शो द भ्वाइस अफ नेपाल आजबाट सुरु ।

शुक्रबार, असोज १२ गते
मकवानपुर । गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन-५ आज शुक्रबारदेखि सुरु हुँदै छ । हिमालय टिभीमा बेलुका ८ बजे प्रसारण हुने शोले लामो नेपाली म्युजिकल रियालिटी शोको रेकर्ड पनि राख्ने छ ।
केही नियममा हेरफेरसहित प्राविधिक रुपमा भव्य तुल्याइएको पाँचौं शोलाई लिएर दर्शकमाझ व्यापक पर्खाइ छ । १२० जना प्रतिभाले ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धा गर्दै छन् । त्यसपछि ब्याटल र नकआउट चरण प्रसारण हुने छन् ।
पाँचौं सिजनमा उदय सोताङ, राजेशपायल राई, प्रमोद खरेल र मिलन नेवार कोचको रुपमा छन् । यो सिजनबाट सोताङ र नेवार कोचको रुपमा भित्रिएका छन् । बिहीबार गरिएको प्रिमियरमा यो शोले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिसकेको छ । सेट, ध्वनि, प्रकाशसहितका पक्षमा शोले राम्रो समीक्षा प्राप्त गरेको छ ।
धरानका रिजेन लोहनी पाँचौं सिजनको पहिलो प्रतिस्पर्धी बन्ने छन् । उनको रक प्रस्तुतिसँगै सिजनको सुरुवात हुनेछ । यसपटक पनि नेपाल, भारतसहित मुलुकका प्रतिस्पर्धीलाई देख्न पाइने छ । यसपटक ‘ब्लक्ड’को नयाँ नियम थपिएको छ । एउटा कोचले अको कोचलाई कमजोर बनाउन र आफूलाई बलियो बनाउन यो नियम थपिएको जनाइएको छ ।
नकआउट राउण्डमा एकैपटक ९ जनाले गायकी प्रस्तुत गर्ने छन् । पाँचौं सिजन पनि प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजे हिमालय टिभी एचडीमा प्रसारण हुने छ ।