पुर्व राज्यमन्त्री चेपाङको टिमले बुझायो स्वास्थ्यमन्त्री बस्नेतलाई ध्यानाकर्षण पत्र ।

शनिबार, असोज २० गते ।
मकवानपुर । मनहरी गाउँपालिकामा रहेको मनहरी प्रस्तावित अस्पतालमा पोष्टपार्टम सेवाका साथ अन्य सेवा थप गर्नको लागि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराइएको छ । स्वास्थ्यमन्त्री बस्नेत शनिबार हेटौंडा आएको अवसरमा मनहरी बागमती प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, गाउँपालिका ७ नम्बर वडाध्यक्ष ठाकुराम तितुङसहितका टोलिले अस्पतालको स्तरवृद्धिका साथै अन्य सेवा थप गर्न स्वास्थ्यमन्त्रीलार्ई आग्रह गरेका हुन् ।
मनहरी, कैलाश तथा राक्सिराङ गाउँपालिकामा भवितव्य भई मृत्यु भएकाहरुको पोष्टमार्टम गर्न हेटौंडा अस्पतालमै पुर्याउनु पर्ने बाध्यता रहेकाले मनहरी अस्पतालमै पोष्टमार्टम सेवा सञ्चालन गर्नसके उक्त भेगलाई सहज हुने कुरा स्वास्थ्यमन्त्रीलाई अवगत गराएका थिए । अस्पताललाई आवश्यक पर्ने जनशक्ति र भौतिक पूर्वाधारको विकास गर्न आवश्यक बजेटको व्यवस्था गर्न पनि स्वास्थ्यमन्त्रीसमक्ष माग गरिएको थियो ।
साथै मनहरी अस्पतालमा स्वास्थ्यबिमाका बिरामीको उपचार गराएको करिब एक करोड रुपैयाँ भुक्तानी पाउन ढिलाई भएको भन्दै स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराइएको थियो । उक्त ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा बागमती प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, मनहरी गाउँपालिका ७ नम्बर वडाध्यक्ष ठाकुराम तितुङ र मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका पूर्वअध्यक्ष नारायण सुबेदी लगायतको उपस्थिति रहेको थियो ।