शुक्रबार, कार्तिक ३ गते ।

मकवानपुर । दसैं मनाउन काठमाडौंबाट हेटौंडा र हेटौंडाबाट काठमाडौं आवतजावत गर्ने यात्रुहरूलाई टाटा सुमोले ठगि गरेको पाइएको छ । सुमो व्यवसायी सुमोको कृतिम अभाव सिर्जना गर्दै यात्रु ठगि गर्न थालेका हुन् ।

घटस्थापनादेखि नै हेटौंडाका सुमो व्यवसायीले घर घरमा सुमो राख्दै सुमो छैन भन्दै बार्गेनिङ गर्ने गरेका छन् । उता काठमाडौंबाट हेटौंडा आउँदा भने सुरुमा यात्रुलाई चुपचाप बोकेर आउने र आधा बाटोमा आएपछि अहिलेको भाडा नै यति हो भन्दै झन्डै तेब्बरसम्म भाडा लिने गरेको पाइएको छ ।

यात्रुले गुनासो गर्दा पनि प्रहरी प्रशासनले यसका विरुद्धमा कुनै कदम अगाडि बढाएको छैन । हेटौंडा कमानेकी सबिना श्रेष्ठलाई काठमाडौंबाट मकवानपुरको भिमफेदी गाउँपालिकाको देउरालीमा आएपछी टाटा सुमोले दुई जनाको भाडा दुई हजार रुपैयाँ लियो । काठमाडौंबाट हेटौंडा बजारतर्फ आउने क्रममा बीचमा प्रहरीको झमेला बेहोर्नु पर्ला भनेर मकवानपुरमा आएपछि मात्र टाटा सुमोले श्रेष्ठ दम्पतीको दुई जनाको भाडा वापत बिना टिकट दुई हजार रुपैयाँ लियो ।दिव्यज्योती यातायात नामक सुमोले जनही एक हजार दरले सबैसँग भाडा लिएको श्रेष्ठको गुनासो छ ।

काठमाडौंबाट बुबाआमा कहाँ टीका लगाउनका लागि हाम्रो सुमो सेवा सुमोमा मनहरी गाउँपालिका ७ का रमेश प्रसाद सुवेदीसहित तीन जना हेटौंडा आए । उनिहरूलाई सुमोका मालिक, चालक र काउन्टरका कर्मचारी मिलेर भाडामा ठगि गरे । त्यस सुमोमा एउटै गाडीको भाडा दुई थरीका दरले सुमो काउन्टरमा लिइयो । अगाडि सिटमा वस्ने रमेश प्रसादलाई एक हजार रुपैयाँ र पछाडी वस्ने श्रीमती र छोरीलाई ८ सय रुपैयाँका दरले सुमो भाडामा ठगि गरे । तीन जनाको भाडा २६ सय रुपैयाँ तिर्नु परेको सुवेदीले बताए । यस सुमोले ठगि गरेको यो पहिलो पटक भने होइन । काठमाडौंबाट हेटौंडा आउँदा र हेटौंडाबाट काठमाडौं जाँदा यो दसैं सुरु भए देखि नै हाम्रो सुमो सेवाले ठग्ने गरेको गुनासो यात्रुको छ ।

बल्खुबाट छुट्ने एक दर्जन बढी टाटा सुमो काउन्टरले काउन्टरबाट टिकट नकाटीकन करिब चार सय वटा टाटा सुमोमा ४ हजार जना यात्रुलाई १ हजार रुपैयाँदेखि, १३ सय रुपैयाँसम्म भाडा रकम लिएर ठगि गरेको खुलेको छ । यात्रु ठग्नेमा भाडाका नम्बर प्लेटका सुमोसँगै अरु निजी नम्बर प्लेटका सुमोहरू समेत छन् ।

बल्खुमा रहेको सबै काउन्टरका कर्मचारीहरुले यात्रुसँग मनलाग्दी रुपमा तोकिएको भन्दा दोब्‍बर र तेब्बरसम्म भाडा लिईरहेका छन् । सबै जसो यात्रुहरू तोकिएको भाडा दर भन्दा बढी १ हजार देखि १३ सय रुपैयाँसम्म तिरेर काठमाडौं-हेटौंडाको यात्रा गरिरहेका छन् ।

तर, कही कतै पनि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छैन । एक दिनमा ४ हजार जनासम्म यात्रु ठगिदै आएका छन् । यो ठगि दसैं सुरु हुँदाको घटस्थापना देखिनै हो । तर, आजका दिनसम्म पनि प्रहरीले ठगि गर्ने सुमोलाई भेट्नै सकेको छैन । यात्रु ठगिनेक्रम भने रोकिएको छैन ।

सुमो चालक तथा व्यवसायिले चाडपर्वमा एकतर्फी यात्रु पाइने र एकतर्फी रित्तै आउनु पर्ने भएकोले तेल खर्च उठाउनु पर्ने आफूहरूको बाध्यता भन्दै बढी भाडा लिएको स्वीकार गरेका छन् । तर, आवतजावत गरिरहेका सुमोको प्रहरी पोस्टमा इन्ट्री र आउट तथ्यांक अनुसार सबै सुमोमा सिट प्याक यात्रुहरू रहेका देखिन्छ । काठमाडौंको बल्खु र हेटौंडाको हरेक सुमो काउन्टरमा यात्रु सुमोको प्रतीक्षामै देखिन्छन् ।

दसैं सुरु हुँदादेखि नै सुरु भएको यात्रु ठगि आजसम्म आइपुग्दा ठगिको दर बढिरहेको छ । काठमाडौ र हेटौंडा दुबै तर्फबाट टाटा सुमोले ठगि गरेको विषयमा नियन्त्रण गर्ने प्रयास भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बताउँछन् । तर आजका मितिसम्म कुनै पनि सुमोलाई कारबाही गरिएको छैन ।