शुक्रबार, कार्तिक ०३ गते ।

मकवानपुर । मकवानपुर राक्सिराङ्ग गाउँपालिकाकी २२ वर्षीय डेढ महिने सुत्केरी सम्झना चेपाङको उपचारमा आर्थिक अभाव भएको छ । मुटु र फोक्सोमा मेनेन्जाइटिस भएपछि सम्झनाको २१ दिनदेखि भरतपुरस्थित पुरानो मेडिकल कलेजको आइसीयूमा उपचार भइरहेको छ । भदौ १२ गते छोरीलाई जन्म दिएकी सम्झनालाई केही हप्तामा ज्वरो र दम बढेको जस्तो भएपछि उपचारका लागि पुरानो मेडिकल कलेज पुर्‍याएको थियो ।

चेपाङलाई उपचारपछि उनको अवस्था सामान्य हुँदै गएपछि ३ दिन अगाडि चिकित्सकहरूले डिस्चार्ज लेखिदिएका थिए । तर औषधिमा लागेको खर्च तिर्न नसक्दा अस्पतालमै उनी बन्दक बनेर बस्नु परेको सम्झनाका श्रीमान् रामप्रसाद चेपाङले बताए । उनका अनुसार सम्झनाको उपचारमा हालमसम्म ४ लाख भन्दा बढी खर्च भइसकेको छ । आफूसँग भएको जायजेथा सकिएको र घरमा रहेका बाख्रा, कुखुरा बेचेर उपचारमै खर्च गरिएको पनि चेपाङले बताए ।

चेपाङको घरमा ७ वर्षका एक छोरा, ५ वर्षकी छोरी र डेढ महिनाकी दूधे छोरी परिवारसँग रहेको छ ।अस्पतालमा औषधि बापत लागेको फार्मेसीको बील भुक्तानी गर्न नसकेपछि आफूहरू अस्पतालमै बस्न बाध्य भएको सम्झनाका श्रीमानले सुनाए । यसो त अस्पतालले आर्थिक अवस्था कमजोर रहेकी सम्झनाको उपचारमा छुट समेत दिएको छ । अहिले औषधिको रकम १ लाख ७८ हजार तिर्न पर्ने देखिएको छ । चेपाङले उक्त रकम जुटाउन नसकेको र आफ्नो श्रीमतीको अवस्था सामान्य हुँदा पनि डिस्चार्ज गरी घर लैजान नसकेको बताए ।

साथै सम्झनाको बलापनमै बिहे भएको स्थानीय समाजसेवी कृष्ण योञ्जनले बताए । योञ्जनका अनुसार सुत्केरी हुनुभन्दा २ महिना अगाडिदेखि सम्झना थलिनुभएको थियो । दिसापिसाब गर्न समेत ओछ्यानबाट उठ्न नसक्ने अवस्थामा पुग्नु भएकाे थियाे । डाक्टरले दिएको सुत्केरी हुने मिति ४-५ दिन नाघिसकेपछि योञ्जनले नै केही रकम जुटाएर गाउँपालिकाको एम्बुलेन्स निशुल्क मिलाई दिएर भरतपुर पठाउनु भएको थियो । अप्रेसन गरेर बच्चा निकाल्ने तयारी भए पनि सम्झनाले सामान्य अवस्थामै छोरीलाई जन्म दिएको समेत योन्जनले बताए । 

१२–१३ दिन घरमा राखेपछि सम्झना झन उठ्नै नसक्ने हुनुभयो । त्यसपछि हेटौँडा अस्पताल लगियो । त्यहाँ उपचार हुन सकेन । त्यहाँबाट भरतपुर अस्तपाल लैजाँदा आइसीयू खाली रहेन छ । त्यसपछि पुरानो मेडिकल कलेजमा भर्ना गरिएको योञ्जनले बताए । बीमाको १ लाख ७० हजार जति त्यसले काम गरिहाल्छ नि भन्ने भयो । अस्पतालका कार्डियोलोजिस्ट मनोज श्रेष्ठले बिरामी एकदमै गम्भीर अवस्थामा रहेकाले बाच्ने सम्भावना ४–५ प्रतिशत मात्रै हुने सुनाउनु भयो । के गर्ने भनेर डाक्टरले प्रश्न गर्नुभयो । त्यसपछि बीमाको रकम छँदै छ तपाईको तर्फबाट सक्दो प्रयास गर्नु भनेर आफूले भनेको पनि योञ्जनले सुनाए । 

भेन्टिलेटरमा दिनकै २५–३० हजार रकम लाग्ने रहेछ । ३ दिनमै बीमाको रकम सकियो । ४ दिन ५ दिन भइसकेपछि सम्झनालाई भेन्टिलेटरबाट निकाल्न उहाँका श्रीमान रामप्रसादले आग्रह गरे । तर स्वास्थ्यका कारण नमिल्ने अवस्था भएको चिकित्सकले बताएपछि त्यहीँ राखेर उपचार भयो । २१ दिनसम्म उपचार भइसकेपछि अब सामान्य उपचार गर्दा पनि हुने र सरकारी अस्पताल लैजान भनेको योञ्जनले बताए । डिस्चार्ज लेखिदिएको ४ दिन भएको छ । औषधिको तिर्न बाँकी १ लाख ४५ हजार नतिरेसम्म लैजान पाइँदैन भनेर बिरामी अस्पतालमै राखिएको छ ।

सुरुमा बीमा कार्ड अस्पतालमा डिपोजिट गरिएको थियो । बीमाको करिब ७० हजार रकम सक्किन लागेपछि पैसा जम्मा गराउनु नत्र औषधि रोकिन्छ भनेर औषधि रोकेको सम्झनाको उपचारमा निरन्तर सहयोग गर्दै आउनु भएका योञ्जनले बताए । योञ्जनका अनुसार पटक-पटक गरेर ८३ हजार तिरिएको थियो । आफैँ जमानी बस्छु बिरामीलाई घर पठाउनु भन्दा पनि नमानेर आइसीयूमै राखेको योञ्जनले जानकारी गराएको छ । 

साथै फार्मेसीका एक कर्मचारीका अनुसार औषधिको रकम २ लाख २८ हजार ७५७ भएको छ । औषधिको ८३ हजार तिरिसकेको छ । अब १ लाख ४५ हजार ७५७ तिर्न बाँकी छ । यो रकम नतिरेसम्म बिरामीलाई पठाउन अस्पताल तयार छैन । सम्झनाकाे उपचार खर्चमा सहयोग गर्नका लागि अपील गरिएको छ । सम्झना र उहाँको श्रीमान दुबैको बैक खाता समेत नरहेकाे योन्जनले बताए ।
– सहजीकरणको लागि,
खातावालाको नाम कृष्ण योञ्जन
बैंक नेपाल इन्भेष्टमेन्ट बैंक 
खाता नम्बर ०२५०५०५०२७९९४९
बिमारीको श्रीमान रामप्रसाद चेपाङ: ±9779765692231