शनिबार, कात्तिक ४ गते ।

मकवानपुर । जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैं कसरी मनाउने भन्ने चिन्ताले पिरोलेको छ। कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन् । यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन । गिठ्ठा, भ्याकुर लगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन् ।

इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए । अरुको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनले बताए । ‘चेपाङ समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने भए पनि अहिले केही भड्किलो बनेको छ । चाडपर्वका लागि ऋण काढेर गरेर गर्ने गरेको पाइन्छ,’ उनले भने ।
दसैंमा टीका लगाउने क्रममा दिदी–बहिनीलाई कोसेलीअनुसारको रकम दिनुपर्ने चलनले समेत समस्या पर्दै आएको उनले बताए । यस समुदायले अर्काको सिको गर्दा आर्थिक अवस्था झन् बिग्रिँदै गएको उनको भनाइ छ । 

‘मासुदेखि खाद्यान्नसमेत उधारोमा ल्याएर दसैं मान्ने गर्छन्,’ केहीले दसैंका लागि जोहो गरेको भए पनि अधिकांशको समस्या उस्तै रहेको उनको भनाइ छ ।
इच्छाकामना–२ का वडाध्यक्ष पञ्चबहादुर प्रजा चेपाङ समुदायमा छ महिनासम्मका लागि खानमात्रै पुग्ने अन्न हुने भएकाले ऋण सापटीबाटै चाडपर्व मनाउने गरेको सुनाए । अहिले ल्याएको ऋण माघ, फागुनमा तिर्ने गरी चाडपर्व मनाउने गरेको जनाउँदै उनले यसलाई रोक्न भड्किलोपन नियन्त्रण गर्नुपर्ने बताए । ‘सोझा जाति भएकाले देखासिकी बढेको छ । यसलाई रोक्न हामीले प्रयास गरेका छौं,’ उनले भने ।

कालिका नगरपालिका–१२ का चेपाङ अगुवा नरजङ्ग प्रजाले यस समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने गरेको बताए । चाडपर्वका लागि साहुसँग ऋण लिएर मनाउनुपर्ने बाध्यता रहेको उनले सुनाए । पहाडी क्षेत्रमा सिँचाइको व्यवस्था नहुने भएकाले कोदो र मकै भए पनि धान चामल नहुने भएकाले साहुसँग ऋण गर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘मास, गहत, कोदो, मकै, तोरी खसीबाख्रा बेचेर तिरौला भनेर ऋणधन गरेर दसैं मनाउन बाध्य छन् । चाडपर्वमा गरेको खर्च तिर्नका लागि नै  माघ–फागुनसम्म कुर्नुपर्ने बाध्यता छ,’ उनले भने ।
 
चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ, लम्जुङलगायतका जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ । विसं २०६८ को जनगणनाअनुसार नेपालमा यो समुदाय ६८ हजार तीन सय ९९ जना छन् ।
-रासस