आइतबार, कार्तिक १२ गते ।

मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय सदस्य राजेश भेटवालले मकवानपुरमा भईरहेको गाँजा फडानी कार्य रोक्न माग गरेका छन् । आइतबार सामाजिक संजालमार्फत भेटवालले पटक पटक प्रहरी प्रशासनद्वारा मकवानपुरको विभिन्न क्षेत्रमा भईरहेको गाँजा फडानी कार्यप्रती प्रश्न गर्दै गरीब जनताको मेहनत फडानी नगर्न अनुरोध गरेका हुन् ।

“पटक पटक प्रहरी प्रशासनद्वारा मकवानपुरका विभिन्न क्षेत्रमा भईरहेको गाँजा फडानी कार्यले प्रहरी प्रशासनलाई के कस्तो फाइदा पुग्ने हो ? संसदमै गाँजा खुल्ला गर्ने विषयले प्रवेश पाएको स्मरण गराउदै प्रहरी प्रशासनद्वारा सर्वसाधारणको रोजी रोटीमा समेत प्रत्यक्ष प्रभाव पार्ने कार्य किन गरिरहन्छ ? पिडामा भएका गरिब दिनदुखिलाई थप पीडा दिएर के पाउछौ ?” नेपाल तरुण दलका केन्द्रिय सदस्य भेटवालले सरकारलाई प्रश्न गरेका छन् ।

साथै एकातिर प्रकृतिले दिएको अमूल्य वरदान गाँजालाई उपयुक्त किसिमले उपभोग गर्ने गरि संसारमा धेरै देशले गाँजा उत्पादन खुल्ला गरेका छन् भने हाम्रोतिर गाँजा फडानी गरेर प्रहरी प्रशासन बहादुरीता प्रदर्शन गर्दै आइरहेको उल्लेख गरेका छन् । देशमा एकातिर स्थानिय उत्पादनलाई बढावा दिने छलफल चल्छ भने अर्कोतिर स्थानिय उत्पादन नष्ट गर्न प्रशासन आफैं अघि सरिरहेको कार्यप्रती सामाजिक संजालमार्फत नेपाल तरुण दलका केन्द्रिय सदस्य राजेश भेटवालले सरकारलाई कडा प्रश्न गरेको हो ।