मंगलबार, कार्तिक १४ गते ।

मकवानपुर । स्थानीय चुनाव होस् वा प्रादेशिक र संघीय चुनाव नै किन नहोस् मकवानपुरका सबैजसो राजनीतिक दल र तिनका नेताहरूको नाराको महत्वपूर्ण अंश गाँजा थियो । तत्कालीन प्रतिनिधि सभा २ का सांसद विरोध खतिवडा गाँजालाई बैधानिकता दिने अभियानका अभियन्ता नै थिए । संसददेखि राजनीतिक कार्यक्रमहरूसम्ममा उनले गाँजाको बैधानिकताबारे प्रश्न उठाउदै आए । यद्यपी उनी अहिले सांसद छैनन् उनलाई पराजित गर्दै अघि बढेका एमालेका महेश बर्ताैलाले पनि भोटका लागि खतिवडाले उठाएको बिषय अब मेरो जिम्मा भो भनेर गाउँगाउँका सोझा जनताको भोट बटुल्ने काम गरे ।

खतिवडाकै सिको गरेर अन्य राजनीतिक दलहरूले पनि चुनावभरि गाँजाको बैधानिकताको विषय उठाई रहे । जब स्थानीयदेखि प्रदेश र संघीय सरकारसमेत निर्माण भयो । अहिले गाँजाको बैधानिकताबारे ठाउँमा पुगेकाहरूले बोल्न छाडेका छन् । बरु मकवानपुरका विभिन्न गाउँका गाँजा खेती नष्ट गर्न धमाधम प्रहरीहरू गाउँ बसिरहेका छन् ।

केही दिनदेखि मकवानपुरका विभिन्न गाउँमा प्रहरी टोली पुगेपछि नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले “पटक पटक प्रहरी प्रशासनद्वारा मकवानपुरका विभिन्न क्षेत्रमा भईरहेको गाँजा फडानी कार्यले प्रहरी प्रशासनलाई के कस्तो फाइदा पुग्ने हो ? संसदमै गाँजा खुल्ला गर्ने विषयले प्रवेश पाएको स्मरण गराउदै प्रहरी प्रशासनद्वारा सर्वसाधारणको रोजी रोटीमा समेत प्रत्यक्ष प्रभाव पार्ने कार्य किन गरिरहन्छ ? पिडामा भएका गरिब दिनदुखिलाई थप पीडा दिएर के पाउछौ ?”

साथै एकातिर प्रकृतिले दिएको अमूल्य वरदान गाँजालाई उपयुक्त किसिमले उपभोग गर्ने गरि संसारमा धेरै देशले गाँजा उत्पादन खुल्ला गरेका छन् भने हाम्रोतिर गाँजा फडानी गरेर प्रहरी प्रशासन बहादुरीता प्रदर्शन गर्दै आइरहेको उल्लेख गरेका छन् । देशमा एकातिर स्थानिय उत्पादनलाई बढावा दिने छलफल चल्छ भने अर्कोतिर स्थानिय उत्पादन नष्ट गर्न प्रशासन आफैं अघि सरिरहेको कार्यप्रती सामाजिक सञ्जालमार्फत खबरदारी गर्दै प्रहरीले गाँजा फँडानी गरिरहेको तस्वीर राख्दै स्टाटस लेखे । भेटवालले अघि भनेका छन्–‘कि सीप देऊ, कि रोजगार ।’ राक्सिराङ्गका जनतामाथि सँधै धरपकड किन ? भन्दै सामाजिक संजालमार्फत गाँजा खेतीको बैधानिकताका लागि बारम्बार आवाज उठाई रहेका छन् । 

गाँजाले बैधानिकता पाउनु पर्ने र यसलाई भरपर्दाे आर्थिक स्रोतको रूपमा विकास गर्नु पर्नेमा मकवानपुरको गाँजाखेती हुने गरेका स्थानीय सरकारका प्रमुखहरूको पनि माग छ । तर यस बिषयको छिनोफानो नहुदा गाँजा फँडानीका घटनाक्रम हरेक बर्ष दोहोरिरहेका हुन्छन् । अहिले गाँजा भित्र्याउने सिजनमा प्रहरी गाउँमा पुगेर फँडानी गर्ने र आगजनी गरेको घटनाप्रति स्थानीयबासिन्दाहरूले सामाजिक सञ्जालहरूमा आक्रोश पोखिरहेका छन् । संघ र प्रदेशमा निर्वाचित भएर गएका र मन्त्री समेत भइसकेकाहरूले जिल्लाको चेपाङ र तामाङ बाहुल्यता रहेको क्षेत्रमा हुने गरेको गाँजाखेतीको संरक्षण र गाँजा किसानहरूको सहानुभूतिका लागि एक शब्द पनि नबोल्दा स्थानीय जनताहरु आक्रोशित छन् ।