राक्सिराङ्ग: रिद्धीसिद्धीको खानी जाने बाटो बनाउन वडाको बजेट खनाउदै वडाध्यक्ष कोईराला

बुधबार, कार्तिक २२ गते ।
मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको बजेट सिमेन्ट उद्योगको खानीमा जाने बाटो निमार्णमा दुरुपयोग भैरहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको रिद्धीसिद्धी सिमेन्ट उद्योगको खानी रहेको राक्सिराङ्ग गाउँपालिको ४ स्थित किन्दाराङ खानी जाने बाटोमा वडाको विकास बजेट खर्च गरि बनाइएको पाइएको हो ।
आफ्नो वडाको विकास बजेट स्थानिय जनताको सुविधामा खर्च गर्न लाग्नु पर्ने स्थानीय सरकार निजि लगानिमा खोलिएको सिमेन्ट उद्योगलाई फाईदा हुने गरि खर्च भएको भन्दै स्थानिय तवरबाटै विरोध भईरहेको छ ।
वडाअध्यक्ष सञ्जय कोईरालाले सिमेन्ट उद्योगसँगको मिलेमतोमा विकास बजेट उद्योगको खानीमा जाने बाटो बनाउन खर्च गरेको स्थानियको भनाई छ । नाम गोप्य राख्ने सर्तमा एक स्थाननियले भने– ‘विकास योजनाको काम भन्दै वडा अध्यक्षज्युले किन्दाराङमा रहेको सिमेन्ट उद्योगको खानी जाने गोरेटो बाटो फराकिलो बनाउदै हुनुहुन्छ । त्यस भेगमा मान्छेको बसोबास पनि छैन । सिमेन्ट उद्योगसँगको मिलेमतोमा नै वडाको बजेट त्यस भेगमा खर्च गरेको देखिन्छ ।’ राक्सिराङ्गको किन्दाराङ खानीसम्म जाने करिब ५ किलोमिटर गोरेटो बाटो वडाको बजेट खर्च गरि फराकिलो पार्ने काम भइरहेको र हाल सम्म १ किलोमिटर बाटो फराकिलो पार्ने काम भईसकेको समेत उनले बताए ।


त्यस्तै सिमेन्ट उद्योगलाई फाइदा हुने गरि बनाइएको बाटोमा पर्ने सालका रुख विरुवा समेत फाडिएको स्थानिएले बताए । यस विषयमा डिविजन वन कार्यालय राप्ती, मनहरीलाई जानकारी गराउँदा समेत कार्यालयले खासै चासो नदिएको बताए । अर्का स्थानीयले नाम गोप्य राख्ने सर्तमा भने – ‘वडाले विकास योजनाको काम भनेर बिस्तारै, बिस्तारै एउटा स्काभेटर प्रयोग गरि खानी जाने बाटो फराकिलो बनाइरहेको छ । बेला बखत बनका कर्मचारी पुग्दा मेसीन लुकाएर वडाको विकास काम भैरहेको भन्ने जानकारी गराउँने गरेको छ ।’ वडा अध्यक्षको घरमा नै वनको कार्यालय रहेको कारण वनले झारो टार्ने काम मात्र गरेको उनको आरोप छ ।

वडा अध्यक्ष कोईरालाले भने वडाको ७ लाख रुपैयाँ विकास बजेट खर्च गरि किन्दाराङ हुँदै चितवनको भण्डरा जोड्ने बाटो फराकिलो पारेको जवाफ दिए । तर किन्दाराङ हुँदै भण्डारा जोड्ने कुनै पनि बाटो नभएको पाइएको छ । राक्सिराङ्गको रतुवाबाट वडा ४ को कार्यालय निस्किएर जैसिन्ता, सिलाधुनी, सिलिङ्गे हुँदै चितवनको भण्डारा जोड्ने बाटो रहेको पालिका उपाध्यक्ष बनस्तम थिङले बताए । उक्त बाटो सिमेन्ट खानीमा जाने बाटो रहेको उपाध्यक्ष थिङले बताए ।

साथै वडाध्यक्षले वनको अनुमति बेगर सयौं रुख विरुवा मास्दै सिमेन्टको खानी जाने बाटो फराकिलो पारेका हुन् । बनको अनुमति किन नलिएको भन्ने प्रश्नमा वडाध्यक्ष कोईरालाले पालिकाको कुनै पनि बाटो निर्माण गर्दा वा बाटोमा पर्ने रुख काट्नु पर्दा वनको अनुमति लिने नगरेको जवाफ दिए । वडाको विकास बजेट थोरै हुने भएकोले वनको अनुमति लिने आईईई गर्ने लगाएको कानूनी प्रक्रिया अवलम्बन गर्ने नगरेको बताए । वन पैदावार नियमअनुसार एक रुख कटान गरीएमा २५ वृक्षारोपण गर्नु पर्ने क्षति न्यूनिकरणका उपाय अपनाउनु पर्ने व्यवस्था छ ।

यस्तै रिद्धीसिद्धी सिमेन्ट उद्योगको खानी हेर्ने जिम्मा पाएका कर्मचारी श्यामबहादुर शाहले भने यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिए । उनले भने– ‘किन्दाराङ खानी उत्खनन् गर्ने अनुमति खानी विभागले दिएको छैन, अनुमति बिना बाटो बनाउन पाईदैन ।’ पालिकाले आफ्नै हिसावले किन्दाराङ हुँदै कैलाश जोड्ने बाटो बनाएको हुन सक्ने उनले बताए । डिभिजन वन कार्यालयल राप्ती, मनहरीका डिएफओ लोकराज नेपालले भने सुचना पाएसँगै काम रोकेको बताए । आईईई समेत नगरि रुख काटिएकाले कानुन बमोजिम दोसि उपर कारर्वाहीको प्रक्रिया अघि बढाइने प्रतिक्रिया दिए । डिएफओ नेपालले काम रोकेको बताए पनि वडाध्यक्ष कोईरालाले भने काम भइरहेको र अबको केही दिनमा काम सक्ने जानकारी दिएका छन् ।
अखबार हव अनलाइनको सहयोगमा यो समाचार तयार पारिएको हो ।