काँग्रेस महामन्त्री थापा चिउरीमा अस्थायी टहरा बनाउँदै

शुक्रबार, कार्तिक २४ गते ।
मकवानपुर । भूकम्पमा नलगाड १ चिउरीमा १३ दलितको मृत्यु भएपछि गाउँ अझै शोकमा छ । भूकम्पमा छोरा गुमाएका अमृत कामीले हाल गुजारा चल्ने राहत भए पनि एक्लो छोरा गुमाउँदाको पीडा असह्य भइरहेको बताए । ‘राति सपनामा झस्कन्छु,’ उनले भने । परम्परा अनुसार शुद्धिकार्य सकिएपछि उनीहरू राहत लिनेको समूहमा देखिन्छन् । त्यहाँ एउटा पनि घर सग्लो र बस्न लायक छैन ।
हरेक दिन दर्जनौं सवारीसाधनको आवतजावत भइरहेको छ । पीडितलाई राहत दिनेको लस्कर छ । शोकमा डुबेका १३ परिवार र घर भत्किएर क्षति व्यहोरेका पीडितलाई राहत र सान्त्वना दिनेको भीड पनि उत्तिकै छ । बिहीबार भने कांग्रेस महामन्त्री गगनकुमार थापा इन्जिनियरको टोलीसहित चिउरीमा अस्थायी टहरा बनाउन व्यस्त देखिन्थे । महामन्त्री थापा पार्टीले गठन गरेको उद्धार, राहत र पुनःस्थापनाका लागि अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिअन्तर्गत अस्थायी टहरा बनाउन बिहीबार चिउरी पुगेका थिए । उनीसँग केन्द्रीय सदस्य गोविन्द पोखरेलसहितको प्राविधिक टिम पनि छ । थापाले भूकम्पपीडितलाई एक–दुई साताका लागि त्रिपाल चाहिने भए पनि पुनर्निर्माणको काम सुरु नहुँदासम्म अस्थायी टहरा आवश्यक पर्ने बताए । ‘कम्तीमा यो जाडो छेक्ने गरी अस्थायी टहरा बनाउने अभियानअन्तर्गत यहाँ आएको हुँ,’ उनले भने ।
साथै थापाले भूकम्पको उद्धार, राहत र पुनःस्थापनामा काम गर्न खोजे पनि चुस्त हुन नसकेको आफूले अनुभव गरेको सुनाए । टहराका लागि खाँबो गाड्दै गरेको अवस्थामा भेटिएका उनले संघ र प्रदेश सरकारले करिब ३५ हजार परिवारका लागि काम गर्न कसैको सहयोग नचाहिने बताए । ‘सर्वोच्चको अन्तरिम आदेशले रोकिएको निर्वाचन क्षेत्र विकास कोषको १० अर्ब रुपैयाँ निर्णय गरेर तुरुन्तै लगाउन सकिन्छ,’ उनले भने, ‘हामीले प्रधानमन्त्रीलाई पनि भनेका छौं । संघीय सरकारले प्रदेशलाई बजेट दिएर नेतृत्व गर्न दिनुपर्छ, त्यसको कार्यान्वयन स्थानीय सरकारले गर्ने व्यवस्था मिलाउनु पर्छ ।’ उनले दुई जिल्लाका भूकम्पपीडितको पुनर्स्थापना गर्न सरकार सक्षम रहेको बताए ।